काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरुले अनुसन्धान र अभियोजनको कामलाई तिब्रता दिन जरुरी रहेको बताएका छन्।
सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताए । उनले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रुपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए।
उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरुले बनाएको मापदण्ड परिपालना र आफैंले निर्माण गरेको कानून र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए ।
अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गरे । उनले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसावले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे। उनले धेरै मुलुकहरु यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताए ।
नेपाल सरकारले पनि आवश्यक कानून निर्माण केही प्रयास गरिरहेको उनको भनाइ छ । पौडेलले अनुसन्धान र अभियोजनका काम,कारबाहीलाई अघि बढाएको उल्लेख गरे ।
यो बीचमा सम्पत्ति शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भएपनि सोचेअनुसार काम नभएको उनले स्वीकार गरे । नेपालको पहिलो र दोस्रो चरणको मूल्यांकन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि बढ्नसक्ने अवस्था नभएको उनको भनाइ छ ।
प्रतिक्रिया