विराटनगर । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विराटनगरको जोगवनी नाकाबाट गतवर्ष सबैभन्दा बढी निकासी गर्ने सुनसरी खनारको रिलायन्स स्पिनिङ उद्योगलाई विराटनगर भन्सार कार्यालयले आइतवार पुरस्कृत गरेको छ ।
यो उद्योगले गतवर्ष जोगवनी नाकावाट ६ अर्ब ७४ करोड ८२ लाख २१ हजार मूल्यको तयारी सामान निकासी गरेको भन्सारको तथ्यांका छ । त्यसैगरी यो नाकाबाट गतवर्ष सुनसरी सोनापुरको अरिहन्त मल्टी फाइवरले ३ अर्ब ४० करोड ५९ लाख मूल्यको तयारी वस्तु निकासी गरेर निकासी तर्फ दोस्रो भएको भन्सारको भनाइ छ ।
त्यसैगरी यो नाकाबाट उपभोग्य वस्तु आयात गरेर सबै भन्दा बढी राजस्व बुझाउने नेपाल आयाल निगमको कोशी प्रदेश डिपो विराटनगर पनि पुरस्कृत भएको छ । यो डिपोले गत वर्ष १० अर्ब १४ करोड ३ लाख १८ हजार मूल्यको पेट्रोलियम पदार्थ आयात गरेर २ अर्ब ९३ करोड ३८ लाख भन्सार राजस्व तिरेको भन्सारको तथ्यांक छ । त्यसैगरी यो नाकाबाट गतवर्ष स्वस्तिक आयलले १० अर्ब ४५ करोड ६१ लाख मूल्यको कच्चा पदार्थ आयात गरेर १ अर्ब २५ करोड ९७ लाख भन्सार महसुल तिरेको भन्सारको विवरण छ ।
विराटनगर भन्सार कार्यालयले ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आइतवार आयोजना गरेको कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन सुझाब दिए ।
यहाँका उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरको पुनरावलोकन गरे औधोगिक उत्पादन वृद्धिभई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने टिप्पणी गरेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारका सबै गतिविधिहरूले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वास्थ्य व्यावसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताए । उनले भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउनुपर्ने सुझाव दिए ।
मोरङ ब्यापार संघका अध्यक्ष अनुपम राठीले भन्सार जाँचपासलाई सरकारले थप सहजता प्रदान गर्नुपर्ने सुझाव दिँदै व्यवसायीले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको अनुभूति गरेको बताए । उनले अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने सुझाए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले भन्सार प्रशासन अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राही प्रति उत्तरदायी हुनुपर्ने सुझाब दिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्सारको प्रमुख उद्देश्य राजस्व संकलन मात्र नभई व्यापार सहजीकरण र निर्यात प्रवद्र्धन पहिलो कर्तब्य भएको बताए ।
विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र राज ढकालले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको उल्लेख गर्दै व्यवसायीहरूको मनोबल उच्च राख्ने गरी नै भन्सार प्रशासनले काम गरिरहेको बताए ।
उनले भन्सार प्रशासन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजीकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरी नै अगाडि बढिरहेको जानकारी दिए ।
भन्सार दिवसको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेता, उपविजेता र उत्कृष्ठ कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया