काठमाडौं । नोबेल मेडिकल कलेजले रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याएको छ । अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो ।
यस्तो किसिमको प्रविधि एशियाको ६ वटा अस्पतालमा मात्रै उपलब्ध छ । प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको स्वामित्वमा रहेको नोबेलले बिराटनगरस्थित नोबेलमा यस्तो प्रविधि पहिलो पटक ल्याएको हो ।
आम नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएको नोबेलले उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गरेको उल्लेख गरेको छ । अस्पतालले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुवात गरेको हो ।
नोबेलले भित्र्याएको प्रविधि दक्षिण एशियाका अस्पतालमध्ये भारतको मुम्बई स्थिति कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्ली स्थित मेदान्तामा २ गरी ६ स्थानमा मात्र जडान गरिएको प्रविधि हो । अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘एज’ नामक उपकरण नेपालको हकमा बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध हुने भएको हो ।
यस उपकरणमा रहेको सिक्सडी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाबिना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले बिनादुखाई शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, फोरडी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ ।
नोबेलमा क्यान्सर उपचारकोलागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
नोबेल मेडिकल कलेज अत्याधुनिक प्रविधिको प्रयोगबाट एसिया क्षेत्रकै अस्पतालको रुपमा स्थापित भएको छ ।
प्रतिक्रिया