उपचारका लागि थाइल्याण्ड गइन् परराष्ट्रमन्त्री आरजु


काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा थाइल्याण्ड पुगेकी छन् । स्वास्थ्य उपचारका लागि राणा थाइल्यान्ड पुगेकी हुन् । शनिबार बैंकक पुगेकी उनी माघ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

बैंककबाटै परराष्ट्रमन्त्री राणाले सोमबार इजिप्टका विदेशमन्त्री डा. बद्र अब्देल–अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्तामा उनीहरूबीच हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको विषयमा कुराकानी भएको थियो ।

जवाफमा अतीले जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।

गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले प्रशंसा दिएकी थिइन् । गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायले सार्वजनिक गरेको छ । तर, उक्त सूचीमा विपिनको नाम छैन ।