नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलको सहकार्य
काठमाडौं । क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडकमसमूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन् । नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरूले साझेदारी गरेका हुन् ।
बंगलादेश दूतावासका कार्यवाहक मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँ लगायतको उपस्थितिमा काठमाडौँमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ ।
दुवै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन् । यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न, उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।
कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडकम समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले यस साझेदारीको महत्त्वलाई प्रकाश पारे । आजका क्लाइन्टहरुलाई विज्ञापन भन्दा बढी पनि अरु केही चाहिन्छ भन्दै चौधरीले उनीहरूलाई आफ्ना दर्शकहरूसँग अर्थपूर्ण योजनाहरू निर्माण गर्न रणनीतिहरू चाहिने बताए । यो मागलाई सम्बोधन गर्न स्ट्राटेजी सेन्ट्रलको स्थापना भएको थियो र क्रियोसँगको साझेदारीले नेपालमा हाम्रो विचार विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।
नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन् जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन् । शार्क ट्याङ्क बंगलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छन् । उनले घरेलु ब्रान्डहरू उचाइमा पुर्याउने साझा दृष्टिकोण दुई दशकभन्दा लामो समयदेखिको प्रयास हो र यसलाई आकार दिन पाउँदा हर्षित भएको बताए ।
क्रियोका निर्देशक र आउटरिचका संस्थापक, उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए । नेपाल एक विशिष्ट बजार हो भन्दै उनले स्थानीय ब्रान्डहरूले बहुराष्ट्रिय र क्षेत्रीय ब्रान्डहरूको कडा प्रतिस्पर्धाको बीचमा आफूलाई टिकाउन अक्सर सङ्घर्ष गर्नुपरेको बताए । यो सहकार्य नेपाली ब्रान्डहरू स्पष्ट, सरल र प्रभावकारी रणनीतिका साथ सफल हुन सहयोग गर्न हाम्रो प्रतिबद्धता भएको उनको भनाइ छ ।