विराटनगर र काँकरभिट्टाले लक्ष्यअनुसार राजस्व उठाउन सकेनन्, गतवर्षको तुलनामा सामान्य वृद्धि



विराटनगर । कोशी प्रदेशका प्रमुख दुई भन्सार कार्यालय विराटनगर र काँकरभिट्टाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसके पनि गतवर्षको तुलनामा दुबै कार्यालयको राजस्व असुली सामान्य बढेको छ ।

विराटनगर भन्सारले गत आर्थिक वर्षको यो अवधिमा लक्ष्यको करिव ६० प्रतिशत मात्र राजस्व असुली गरेको थियो । चालु वर्ष असुली वृद्धि भएर साढे ७७ प्रतिशत पुगेको छ ।

यसको मुख्य कारण औद्योगिक कच्चा पदार्थ आयात र निकासी बढनु रहेको भन्सार प्रमुख ज्ञानेन्द्र ढकालको प्रतिक्रिया छ ।

यो भन्सारले गतवर्ष २५ अर्ब ३३ करोड ९४ लाख ५५ हजार असुली लक्ष्य राख्दा १५ अर्ब ४ करोड ४० लाख ७९ हजार मात्र असुली गरेको थियो । चालु वर्ष २० अर्ब ७ करोड ५३ लाख ८६ हजार असुली लक्ष्य राख्दा ७७.५५ प्रतिशत अर्थात १५ अर्ब ५६ करोड ६७ लाख ३४ हजार रुपैयाँ असुली गरेको छ ।

यो असुली गत वर्षको तुलनामा ५२ करोड २७ लाख बढी हो । विराटनगर नाकावाट पुस सम्ममा ८९ अर्ब ४३ करोड मूल्य वरावरका सामान आयात हुँदा २२ अर्ब २३ करोड मूल्यका सामान निकासी भएका छन् ।

भन्सारको तथ्याङक अनुसार पुसमा मात्र यो नाकाबाट १९ अर्ब ६७ करोडको आयात हुँदा ७ अर्ब ११ करोडको निकासी छ । यसकै कारण पुसमा भन्सारले लक्ष्यको ९६.१५ प्रतिशत राजस्व असुली गरेको छ । यो महिना ३ अर्ब ३१ करोड असुली लक्ष्य रहदा ३ अर्ब १९ करोड असुली भएको छ ।

विराटनगर नाकाबाट मुख्य गरेर एचआरसीट, भटमासको कच्चा तेल, पोलिथिन दाना, शुद्ध फलाम, एलपी ग्यास, सुर्यमुखी कच्चा तेल, स्टेपल फाइवर, कपर वायर, स्टिल वायर रड इन क्वायल र ८ एमएस, औधोगिक मेशिनरी र कोइलाको आयात हुन्छ ।

त्यसैगरी यो नाकाबाट भटमासको प्रशोधित तेल, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका कपडा, जुटका वोरा र झोला, सिआरसिट, प्लाइउड, कोरुगोटेड सीट जस्तापाता र फलामे पाताको निकासी हुने गरेको छ । विराटनगर भन्सारको चालु वर्षको राजस्व असुली लक्ष्य ४१ अर्ब ५५ करोड छ ।

यो कार्यालयले ५० अर्ब ८१ करोड राजस्व असुलीगर्ने लक्ष्य राख्दा ३० अर्ब ३५ करोड मात्र असुली भएको थियो ।

त्यसैगरी काँकरभिट्टा भन्सारले चालु वर्षको ६ महिनामा लक्ष्यको ९१.२४ प्रतिशत राजस्व असुली गरेको छ । गतवर्ष यो अवधिमा यो कार्यालयको राजस्व असुली झण्डै ६५ प्रतिशतमात्र थियो ।

चालु वर्ष ८ अर्ब २३ करोड ५३ लाख ४५ लाख असुली लक्ष्य राखेको यो कार्यालयले ७ अर्ब ५१ करोड ३५ लाख ५५ हजार रुपैयाँ असुली गरेको छ ।

यसको मुख्य कारण पेट्रोलियम पदार्थको आयात बढ्नु रहेको भन्सारको भनाइ छ । यो भन्सारको राजस्व असुलीको झण्डै ७५ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थमा निर्भर रहेको छ । गतवर्ष ९ अर्ब ५५ करोड ७१ लाख ७० हजार असुली लक्ष्य रहँदा यो कार्यालयले ६ अर्ब ८५ करोड ६८ लाख ७८ हजार रुपैयाँ असुली गरेको थियो । यो कार्यालयको चालुवर्षको राजस्व असुली लक्ष्य १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार छ ।


क्लिकमान्डु