अमेरिकाको लस एन्जलसमा भीषण डढेलो, आपतकालीन अवस्था घोषणा


एजेन्सी । अमेरिकाको लस एन्जलसमा डढेलो तीव्र गतिमा फैलिँदा आपतकालीन अवस्था घोषणा गरिएको छ । लस एन्जलसमा डढेलोले १० एकड क्षेत्रफलबाट २ हजार ९०० एकडभन्दा बढी क्षेत्रफललाई केही घण्टामै ढाकेको छ ।

दमकल प्रमुख क्रिस्टिन क्राउलीले ३० हजारभन्दा बढी मानिसहरूलाई तुरुन्तै स्थानान्तरण गर्न आदेश दिएका छन् र १३ हजारभन्दा बढी भवनहरू खतरामा रहेको जानकारी दिएका छन् ।

डढेलोले रातको आकाशमा आफ्नो त्रास फैलाउँदै गर्दा, धेरै बासिन्दाहरूले सुत्ने वा भाग्ने निर्णय गर्न सकेका छैनन् ।

सहरको उत्तर-पश्चिमी क्षेत्रमा तेस्रो ब्रश फायर पनि तीव्र रूपमा फैलिरहेको छ ।

डर लाग्दो फुटेजमा प्यासिफिक प्यालिसेड्स क्षेत्रका घरहरू जलेको र बासिन्दाहरूले ज्यान जोगाउन आफ्ना गाडीहरू छोडेर भागेको देखिन्छ ।

यो डढेलो मङ्गलबार बिहान १०:३० (स्थानीय समय) बजे शुरु भएको हो । ५० माइल प्रतिघण्टा (८० किलोमिटर प्रति घण्टा) हावाको तीव्र बेग र अत्यन्तै सुक्खा अवस्थाले यसलाई तीव्र गतिमा फैलिन मद्दत गरेको सीएनएनले जनाएको छ ।

यसैबीच, दक्षिणी क्यालिफोर्निया क्षेत्रमा भीषण डढेलोको कारण लस एन्जलस प्रभावित भएपछि स्क्रिन एक्टर्स गिल्ट अवार्डले मनोनयन समारोह नै स्थगित भएको जनाएको छ ।

अधिकारीहरूले आगो नियन्त्रणमा लिन २५० अग्नि नियन्त्रक, दमकल र हेलिकोप्टर परिचालन गरेका छन् ।