सरकारले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्छः निजी क्षेत्र
काठमाडौं । सरकारले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्न नीतिगत सुधार गर्नुपर्ने निजी क्षेत्रले माग गरेको छ ।
नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभामा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरुले यस्तो माग गरेका हुन् । उनीहरुले सरकारले निर्यात प्रवद्र्धनको लागि विद्यामान नीति नियमहरुलाई परिमार्जन गरी सहजिकरण गर्नुपर्नेमा जोड दिए।
निजी क्षेत्रका नेतृत्वले राज्य निर्यात प्रवद्र्धनको लागि अनुदान र सहुलियतमा गरेका प्रतिवद्धता कार्यान्वयन गर्न आवश्यक रहेको पनि उनीहरुले बताए । उनीहरुले सरकारले मुलुकको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनको लागि सरकारले ठोस कदम चल्नुको विकल्प नभएको बताए । उनीहरुले मुलुकको आर्थिक विकास र व्यापार घाटा कम गर्नको लागि निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि ठोस कदम चाल्नुपर्ने बताए ।
देशको आर्थिक विकासका लागि निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापनका विषयमा गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई बलियो बनाउन सक्नुपर्ने ढकालले बताए ।
निर्यातका लागि पनि सोहीअनुरुप नीति बनाउन र कार्यान्वयन गर्न जरुरी देखिएको उनको भनाइ छ । आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नसके सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुने ढकालको विश्वास छ ।
निजी क्षेत्रका व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेअनुसार समयमा निर्यातमा अनुदान दिन उनले आग्रह गरे ।
‘सरकारले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने नीतिअनुरुप काम गर्नुपर्छ । आयात प्रतिस्थापनका लागि घरेलु उद्योग प्रतिष्ठानलाई कसरी बलियो बनाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्यो । निर्यातका लागि पनि सोहीअनुरुप नीति बनाउन र कार्यान्वयन गर्नुपर्छ,’ ढकालले भने, ‘ यसो गर्नसकेमा सरकार र निजी क्षेत्र दुवैले चाहेको उद्देश्य पूर्ति हुन्छ । देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नसक्छौ । फाइनान्सियल हिसावले निर्यातलाई अनुदान दिने हो भने र सटेन हिसावमा दिने भनेको अनुदान प्रतिवद्धता समयमा दिनुपर्छ । सरकारको खर्च नगरी निजी क्षेत्रलाई गर्नसक्ने प्रोत्साहन गर्नुपर्छ । त्यस्तो विषयमा सरकारले कन्जुस्याँई गर्नु हुँदैन ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले पनि नेपालले व्यापार घाटा कम गर्ने निर्यात प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले निर्यात प्रवद्र्धनको लागि सरकारले विद्यमान नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।
चालु आर्थिक वर्षको पाँच महिनामा ७३.६५ विलियनको निकासी भएको देखिएको भन्दै उनले गत वर्षको सोही अवधीमा ६३.२० मिलियनको वस्तु निकासी भएको बताए ।
चालु आर्थिक वर्षको पाँच महिनामा १६.५ प्रतिशतले निर्यात वृद्धि भएको प्रचार गरिएको अग्रवालले बताए ।
‘नेपालले व्यापार घाटा कम गर्ने उपाय भनेको निर्यात प्रवद्र्धन हो । निर्यात प्रवद्र्धनको लागि सरकारले धेरै नीतिगत सुधार गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
उनले सरकारले निर्यात अनुदान बढाउनुपर्ने माग गरे । ३० प्रतिशतसम्मको भ्यालु एडिसनमा ५ प्रतिशतको अनुदान दिन आवश्यक रहेको उनको भनाइ छ ।
६० प्रतिशतसम्म भारतमा निर्यात हुने भए पनि पछिल्लो समय नेपाली वस्तु भारत निर्यातमा ठूलो समस्या रहेको भन्दै सरकारले सहजीकरण गर्न आवश्यक रहेको उनले बताए ।