टाटाको पन्चले तोड्यो मारुती सुजुकीको ४० वर्षे वर्चस्व, बन्यो १ नम्बर कार



एजेन्सी ।  टाटा मोटर्सको उत्पादन पन्च मारुती मारुतीलाई पछि पार्दै १ नम्बर बनेको छ । टाटाले मारुतीको ४० वर्षे वचर्स्वको रेकर्ड तोडेको हो ।

सन् २०२४ मा पहिलो पटक भारतको सबैभन्दा धेरै बिक्री हुने कारमा मारुतीलाई टाटाले उछिनेको हो । टाटाको पन्च ईभी देशकै सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ ।

टाटा मोटर्सको सब-कम्प्याक्ट एसयूभी पन्चले मारुती सुजुकीको वागन आर र स्विफ्टलाई उछिन्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कारको उपाधि जितेको हो । सन् २०२४ मा टाटा मोटर्सले २ लाख २ हजार युनिटभन्दा बढी पन्च बिक्री गरेको छ । जसले १ लाख ९१ हजार यूनिट बिक्री भएको वागन आरलाई पछि पारेको छ । २०२४ का शीर्ष पाँच धेरै बिक्री भएका कारहरूमध्ये तीन एसयूभी छन् ।

भारतमा महँगो गाडीहरूको मोहले देशको किफायती गाडी निर्माता मारुती सुजुकीका लागि चुनौती थपेको छ । विशेष गरी १० लाख भारुभन्दा माथिको मूल्यका सीमित एसयूभी विकल्पले मारुती सुजुकीको बजार हिस्सा घटाएको हो ।

भारतमा सन् २०२४ मा कोरोना महामारीपछिको कार बिक्रीमा नयाँ रेकर्ड बनेको छ । ४२ लाख ८६ युनिट कार बिक्री हुँदा पनि मारुतीको बजार हिस्सा ४१% मा झरेको छ ।  त्यस अघि मारुतीको बजार ५२ प्रतिशत थियो ।

भारतमा स्वतन्त्रतापछिको हिन्दुस्तान मोटर्सको एम्बेसडर तीन दशकसम्म भारतको नम्बर १ कार  बन्यो । त्यसपछि १९८५ मा सुजुकीको आधुनिक र किफायती कार मारुती ८०० ले भारतको बजार कब्जा गर्दै दशकौंसम्म शीर्ष स्थानमा रह्यो ।

मारुती ८०० पछि, यसको उत्तराधिकारी अल्टो १३ वर्षसम्म शीर्ष स्थानमा रह्यो, जसले २०११ मा ३ लाख ११ हजार ३६७ यूनिट बिक्री गर्‍यो ।  यो भारतीय अटोमोबाइल उद्योगमा कुनै पनि गाडीको एकै वर्षमा सबैभन्दा धेरै बिक्री भएको रेकर्ड हो।

तर सन् २०१८ पछि, सरकारी नीतिहरुमा भएका परिवर्तनका कारण बजार तीव्र रूपमा परिवर्तन भयो । त्यसपछि, नम्बर १ स्थान डिजायर, स्विफ्ट र वागन आर जस्ता विभिन्न मारुती उत्पादनहरूबीच सर्दै आयो । तर, २०२४ मा एसयूभीहरूको लोकप्रियताले बजार हिस्सालाई मात्र नभई गाडीका मोडलहरूलाई समेत प्रभावित पारेको छ ।

टाटा मोटर्सका एमडी शैलेश चन्द्रका अनुसार, सन् २०२४ मा भारतीय यात्री गाडी उद्योगले ४३ लाख यूनिट बिक्रीको आँकडा पार गर्ने अपेक्षा गरिएको छ । ‘टाटा मोटर्सको लागि सन् २०२४ लगातार चौथो वर्ष हो, जहाँ वार्षिक बिक्रीमा नयाँ रेकर्ड बनाउँदै ५.६५ लाख यूनिट बिक्री गर्‍यो । हाम्रो एसयूभी पोर्टफोलियोमा १९% वृद्धि भयो र पञ्चले २ लाख यूनिटभन्दा बढी बिक्री गर्दै भारतको सबैभन्दा धेरै बिक्री हुने कार मोडेल बन्यो,’ उनले भने ।

सन् २०२१ मा सुरू गरिएको पन्च आफ्नो एसयूभी डिजाइन, १९० मिमी ग्राउन्ड क्लियरेन्स, र ३.८ मिटर लम्बाइमा प्रभावकारी ड्राइभिङ पोजिसनका कारण लोकप्रिय बनेको हो ।

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ हो । जसले नेपालमा पन्च ईभी ५०० युनिटभन्दा धेरै बिक्री गरिसकेको छ । नेपालमा समेत टाटा ईभी कार बिक्री गर्ने सबैभन्दा ठूलो कम्पनी हो ।


क्लिकमान्डु