एनएमबि बैंकका सीईओको तलब भत्ता २ करोड ४१ लाख, सञ्चालकले कति बुझे ?
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ४१ लाख ५८ हजार ७२५ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।
बैंकले गत आवमा सीईओलाई तलब बापत ९० लाख, सञ्चय कोष बापत ९ लाख, भत्ता बापत ८५ लाख, बोनस तथा वेल्फेयर बापत ५७ लाख १३ हजार ७२५ रुपैयाँ र अन्य शिर्षकमा ४५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले बैंकको कर्मचारी सेवा शर्त तथ सुविधा सम्बन्धी विनिमयमावलीे अनुसार प्राप्त गर्ने सुविधाहरु दिँदै आएको छ । यस्तै बोनस ऐन अनुसार प्राप्त गर्ने बोनस, बैंकको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी विनिमयमावलीे अनुसार प्राप्त गर्ने सवारी साधन भत्ता दिने गरेको जनाएको छ । हाल बैंकको सीईओमा सुनिल केसी रहेका छन् । सीईओले पाउने तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।
यस्तै गत आवमा बैंकले सञ्चालक समितिलाई बैठक भत्ता बापत १६ लाख ५४ हजार रुपैयाँ प्रदान गरेको छ । गत आवमा बैंकमा २० वटा सञ्चालक समितिको बैठक बसेको थियो । बैंकले भत्ता बापत सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक १८ हजार र सञ्चालकलाई प्रति बैठक १६ हजार भत्ता दिने गरेको छ ।
बैंकले सञ्चालक समितिको सदस्यहरुलाई टेलिफोन, पत्रिका र मोबाइल खर्चको लागि मासिक भत्ता १२ हजार दिने गरेको छ । गत आवमा सञ्चालक समितिको सदस्यहरुलाई टेलिफोन, पत्रिका र मोबाइल खर्च बापत १० लाख ८ हजार रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।
हाल बैंकको अध्यक्षमा मनोज कुमार गोयल रहेका छन् भने सञ्चालकमा शर्मिला सञ्जिब हार्दी प्रकाश, ठाकुर जंग थापा, उत्तम भ्लोन, हरिषचन्द्र सुवेदी, शिरिष कुमार मुरारका र बन्दना पाठक रहेकी छिन् ।