लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको छ ।
हेलिकप्टरमा चरा ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् ।
कम्पनीका एक उच्च अधिकारीका अनुसार, ‘चरा ठोक्किए पनि एयरक्राफ्टमा कुनै ठूलो क्षति भएको देखिएको छैन । हेलिकप्टरलाई पुनः उडानका लागि तयारी गरिँदैछ।’
विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए । सबै यात्रु सुरक्षित रहेको स्रोतको भनाइ छ ।
उडानका क्रममा हेलिकप्टरमा चरा ठोक्किएपछि सम्भावित जोखिम टार्नका लागि पाइलटले तत्काल नजिकैको सुरक्षित स्थानमा हेलिकप्टर अवतरण गराएका थिए ।
हेलिकप्टरका प्राविधिक जाँचपछि थप प्रक्रिया अघि बढाइने जनाइएको छ ।