९ चार्टर उडानपछि बल्लमात्र पोखरा विमानस्थल प्राविधिक रुपमा ठीक भएको क्यानको निष्कर्ष !
२ वर्षसम्म नियमित उडानको टुंगो लागेन
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आएको दुई वर्षमा नौ वटा चार्टर उडान भएपछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राविधिक रुपमा ठीक भएको बताएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२६ जना यात्रु बोकेर काठमाडौँ अवतरणपछि क्यानले प्राविधिक रुपमा उडान गर्न कुनै समस्या नभएको बताएको हो ।
पोखरा विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पुगेको छ । यो बीचमा चिनियाँ वायुसेवा सिचुवानले तेस्रोपटक पोखरामा चार्टर उडान गरेको छ भने यो विमानस्थलबाट हालसम्म जम्मा ९ वटा चार्टर उडान भएको छ ।
चार्टर उडानमै उत्साहित भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेरै विमानस्थल प्राविधिक रुपमा सक्षम भएको बताएको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलबाट हुने उडान र अवतरणमा कुनै समस्या नभएको बताए । उनले भने, ‘चिनियाँ वायुसेवा सिचुवानले विहीबार १२९ जनासहितको पूर्ण क्षमतामा यात्रु ल्याएको छ भने पोखराबाट काठमाडौँ पनि पूर्ण यात्रु क्षमतामा अवतरण गरेको छ ।’
अधिकारीले गुनासो गर्दै भने, ‘कतिपयले डाँडा काटेर अनावश्यक खर्च गरेको भनेर आरोप लगाए भने कतिपयले विमानस्थलको छावनमार्ग नपुग्ने, उडान गर्न प्राविधिक समस्या भएको र लोड पेनाल्टी लाग्ने हुँदा पूर्ण क्षमतामा उडान हुन नसक्ने भने ।’
आजको सिचुवानको पूर्ण क्षमताको उडानले विमानस्थल पूर्ण रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सक्षम भएको पुष्टि भएको उनको भनाइ छ ।
अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि सम्पूर्ण रुपमा सेवा सुविधा तयार भएको र अब व्यवसाय खोजेर नियमित उडान गर्न पनि व्यवसायीलाई आग्रह गरे ।
पोखरा नाट्टाका अध्यक्ष कृष्ण दाहालले सिचुवानको प्रवद्र्धनात्मक उडानले सकारात्मक सन्देश दिएको बताए । उनले भने, ‘अब नियमित उडान गर्न आवश्यक पहल गर्ने छौं ।’
पोखरामा विहीबार सिचुवान एयरलाइन्सले अङ्ग्रेजी नयाँ वर्ष २०२५ का अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा भोलि शुक्रबारदेखि सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन चार्टर उडानबाट चिनियाँ टोली आज पोखरा ल्याएको छ ।
पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा नै बनेको विमानस्थल हो । यो विमानस्थल बनाउन सरकारले करिब २२ अर्ब रुपैयाँ खर्च गरेको भएपनि विमानस्थलको उद्घाटन भएको दुई वर्षसम्म पनि उडान भने सुरु हुन सकेको छैन ।
यो विमानस्थल सञ्चालनमा आएको आगामी जनवरी १ देखि दुई वर्ष पूरा हुने छ। पोखराबाट उडान हुन नसक्दा र सरकारले अर्बौं लगानी डुबेका कारण यो विमानस्थल बनाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको आलोचना भइरहेको छ।