दिपेन्द्र सिंह ऐरीले पाउने कारमा साढे १५ लाख रुपैयाँ कर छुट गर्न क्यानले सरकारलाई पत्र लेख्ने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सर्वोउत्कृष्ट नेपाली खेलाडी बन्दै कार उपहार पाएका दिपेन्द्र सिंह ऐरीलाई कर छुट गर्न पहल गर्ने भएको छ ।

दिपेन्द्रले उत्कृष्ट खेलाडी बन्दै ओमोडाको ई-५ कार पुरस्कार पाएका थिए । तियोगितामा सुदूरपश्चिम रोयल्स उपविजेताबन्दा टिमका कप्तान ऐरी उत्कृष्ट खेलाडी बने । दिपेन्द्रले प्रतियोगिताभर ९ खेलमा १ अर्धशतकसहित २२७ रन बनाएका थिए । बलिङतर्फ उनले ९ खेलमा ९ विकेट लिए ।

प्रतियोगिताभर उत्कष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई ओमेडाले ओमोडा ई-५ कार प्रदान गरेको छ । नेपाली बजारमा यो कारको मूल्य ६१ लाख ९९ हजार रूपैयाँ पर्छ ।

दिपेन्द्रले पाएको कारमा आयकर ऐनको दफा ८८ ‘क’ अनुसार आकस्मिक लाभ कर तिर्नु पर्नेछ । जुन कर कारको पूरा मूल्यको २५ प्रतिशत हुन आउँछन् । यसो हुँदा दिपेन्द्रले १५ लाख ५० हजार कर तिर्नु पर्ने हुन्छ ।

यो रकमलाई तिर्न नदिन सरकारलाई पत्र पठाउने क्यानका प्रवक्ता छुम्बि लामाले बताए ।

‘हामीले कर तिर्नु नपर्ने विषयमा सरकारलाई पत्र पठाउने तयारी गरेका छौं । त्यसैअनुसार केही दिनमा पत्र पठाउने छौं,’ लामाले क्लिकमान्डुसँग भने ।

आयकर ऐनको दफा ८८‘क’ को उपदफा १ मा साहित्य, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्याएबापत प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ५ लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्ने छैन भनिएको छ ।

यसअनुसार उनले विगतमा ५ लाख रुपैयाँसम्मको पुरस्कार नपाएको अवस्थामा १४ लाख २४ हजार रुपैयाँ कर तिर्नु पर्ने छ । यसअघि ५ लाख बराबरको पुरस्कार पाइसकेको भए कारको १५ लाख ५० हजार रुपैयाँ कर बुझाउनु पर्ने छ ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरी दिपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ ।

दिपेन्द्रले यातायात कार्यालयमा गाडी नामसारी गर्नुअघि नेपाल सरकारले कर छुट नदिएको अवस्थामा भने उनले कर तिर्नुपर्ने छ। यातायात कार्यालयमा गाडी आफ्नो नाममा नामसारी गर्दा खरिद गरेको प्रमाण वा पुरस्कारको हकमा कर तिरेको प्रमाण पेस गर्नुपर्छ ।

त्यस्तै ललित राजवंशी १७ विकेट लिँदै एनपीएलका उत्कृष्ट बलर घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । १० लाख मूल्यको विद्युतीय मोटरसाइकल पाएका उनले पनि कर तिर्नु पर्ने छ । ललितले २ लाख ५० हजार कर तिर्नु पर्नेछ ।


क्लिकमान्डु