
एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा सक्रिय कम्पनी ओपनएआईले च्याटजीपीटीमा नयाँ ‘लकडाउन मोड’ फिचर ल्याएको छ । च्याटजीपीटीमा हुन सक्ने ‘प्रम्प्ट इन्जेक्सन’ आक्रमणबाट बच्न र संवेदनशील डाटा सुरक्षित राख्न यस्तो विशेषता थप गरिएको हो ।
विशेषगरी वेबपेज वा अन्य अनलाइन सामग्रीभित्र लुकाइएका हानीकारक निर्देशनहरू मार्फत च्याटबोटलाई झुक्याएर गोप्य सूचना प्राप्त गर्ने प्रयासलाई रोक्न यो सुरक्षा फिचर डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार यो मोडले विशेषगरी प्रयोगकर्ताको डाटा अनधिकृत रूपमा बाहिरिने जोखिमलाई कम गर्न मद्दत गर्नेछ ।
यो लकडाउन मोड सक्रिय भएपछि च्याटजीपीटीका कतिपय सुविधाहरूमा भने प्रतिबन्ध लाग्नेछ । यसअन्तर्गत लाइभ वेब ब्राउजिङ सुविधा बन्द हुनेछ र प्रयोगकर्ताले केवल क्यास्ड (पहिले नै संग्रहित) सामग्रीमा मात्र पहुँच पाउनेछन् ।
त्यसैगरी, वेबबाट तस्विरहरू खोज्ने र देखाउने कार्य, डीप रिसर्च र एजेन्ट मोड जस्ता एडभान्स सुविधाहरू पनि यो मोडमा निष्क्रिय रहनेछन् । यद्यपि, प्रयोगकर्ताले एआईमार्फत नयाँ तस्विरहरू सिर्जना गर्न भने पहिलेझैँ पाउनेछन् ।
लकडाउन मोडले सुरक्षाको तह बढाए पनि यो पूर्ण रूपमा जोखिममुक्त भने नरहेको ओपनएआईले स्पष्ट पारेको टेकक्रन्चमा उल्लेख छ । कम्पनीका अनुसार क्यास्ड वेब सामग्री वा प्रयोगकर्ताले आफैँ अपलोड गरेका फाइलहरूमा लुकेका प्रम्प्ट इन्जेक्सनले अझै पनि एआईको जवाफ र व्यवहारलाई प्रभावित पार्न सक्ने सम्भावना रहन्छ । त्यसैले, यो फिचरले जोखिमलाई पूर्णतया निर्मूल पार्नुभन्दा पनि संवेदनशील जानकारी चोरी हुने सम्भावनालाई उल्लेखनीय रूपमा घटाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
ओपनएआईले यो फिचर सबै प्रयोगकर्ताका लागि नभई उच्च स्तरको सुरक्षा आवश्यक पर्ने व्यक्ति र संस्थाहरूका लागि लक्षित रहेको बताएको छ । कम्पनीका अनुसार यो मोड विशेषगरी संवेदनशील डाटामा काम गर्नेहरूका लागि उपयोगी हुनेछ । हाल यो सुविधा ‘च्याटजीपीटी बिजनेस’ खाताहरू र केही योग्य व्यक्तिगत खाताहरूमा रोलआउट गर्न सुरू गरिएको छ ।









प्रतिक्रिया