निर्माण क्षेत्रको अवरोधले अर्थतन्त्रमा गम्भीर असर: मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रमा आउने अवरोधले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री दाहालले निर्माण क्षेत्रका सबै सरोकारवालाहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
उनले ६५३ पुल निर्माणका लागि ६९ लाख रुपैयाँ मात्र छुट्याइएको विषयलाई उठाउँदै सो रकमले आवश्यक काम सम्भव हुने या नहुने प्रश्न गरे । ‘एउटा पुल बनाउन १० देखि १२ करोड रुपैयाँसम्म लाग्ने ठाउँमा यति थोरै बजेटले समस्या झन् जटिल बन्दै गएको छ,’ मन्त्री दाहालले भने । उनले भोटको राजनीतिका कारण यस्ता विषयले समस्या सिर्जना गरिरहेको बताए ।
मन्त्री दाहालले नेपालका विकास मोडल र आयोजना छनोट प्रक्रियामा कमजोरी रहेको स्वीकार गरे । “हामीले विकास आयोजनालाई प्राथमिकता दिन सकेका छैनौं, जसका कारण प्रभावकारी प्रतिफल पाउन गाह्रो भइरहेको छ,” उनले भने । आयोजना निर्माण हुँदा त्यसका उपभोक्तालाई प्राथमिकता दिने र उत्पादनलाई बजारसम्म पु¥याउने योजनामा ध्यान दिनुपर्ने उनको जोड छ ।
उनले नेपालमा तल्लो तहबाट आउने योजनाहरूभन्दा पनि माथिल्लो स्तरबाट छनोट हुने योजनाहरू समस्याको कारण बनेको गुनासो गरे । “हाम्रो ऐन र कानुनहरू विकासमैत्री छन् कि छैनन् भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवश्यक छ,” उनले भने ।
मन्त्री दाहालले रुग्ण आयोजनाहरूको ठेक्का प्रक्रिया व्यवस्थापन र समाधान गर्न छिट्टै निर्णय गरिने बताए । यसका लागि निर्माण व्यवसायीसँग सहकार्य गर्दै योजनाबद्ध रूपमा अगाडि बढ्ने जानकारी पनि दिए ।