एनपीएल: नेपाली खेल र अर्थतन्त्रको सुनौलो अध्याय
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणले नेपाली खेलकुद मात्र नभई, समग्र अर्थतन्त्र र राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र व्यवसायिक अधिकार व्यवस्थापनको जिम्मेवारी पाएको ब्रान्ड डिजिटल लजिक प्रालिबीचको सहकार्यले पहिलो संस्करणमै नेपाल प्रिमियर लिगको उज्ज्वल भविष्यको बाटो कोर्दै, नेपाली क्रिकेटलाई विश्व स्तरमा पुर्याउने मार्ग प्रशस्त गरेको छ ।
नेपालको घरेलु प्रतियोगिता पहिलो पटक स्टार स्पोर्ट्स नेटवर्कमार्फत विश्वभरिका दर्शकहरूसम्म पुर्याइएको छ । यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई, नेपाली खेल क्षेत्रलाई नयाँ पहिचान दिएको छ । यसले भविष्यमा नेपाली क्रिकेट खेलाडीहरूको सहभागिता विश्वव्यापी लिगहरूमा बढ्न सक्छ ।
यससँगै, बलियो डिजिटल उपस्थिति र विश्वभर सबैभन्दा बढी हेरिने च्यानल मध्ये एक स्टार स्पोर्ट्स इन्डियाले एनपीएलका भिडियो क्लिप्स, खेलाडीहरुको प्रोफाइल र हाइलाइट्स नियमित रूपमा आफ्नो ६.६ मिलियन फलोअर्स भएको पेजबाट पोस्ट गर्दै आएको छ ।
यसले नेपाली क्रिकेटको ब्राण्ड इमेजलाई परिष्कृत गर्दै, खेलाडीहरु र नेपालको क्रिकेटलाई विश्वभर चिनाउने महत्वपूर्ण भूमिका निभाएको छ ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा ब्रान्ड डिजिटल लजिक र शारडा समूहको साझेदारीले खेलाडीहरूको सम्मानका लागि नयाँ मानक स्थापना गरेको छ ।
‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले अमोदा ई ५ कार उपहार दिने घोषणा गरेको छ, जुन नेपालको खेल इतिहासमा यो ‘प्लेयर अफ द सिरिज’ शीर्षकमा दिन लागिएको सबैभन्दा ठूलो पुरस्कारको राशी हो । यसले नेपाली खेलाडीलाई प्रोत्साहित गर्दै, नेपाली क्रिकेटलाई अझ पेशागत रूपमा विकास हुन प्रेरणा दिनेछ छ ।
आर्थिक र व्यवसायिक दृष्टिकोणबाट पनि नेपाल प्रिमियर लिगको सफलता एक प्रेरणादायक उदाहरण बनेको छ ।
नेपालमा पछिल्लो समय चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण व्यवसायमा गिरावट देखिएकाे थियो, जसका कारण थुप्रै कम्पनीहरूले आफ्नो विज्ञापन बजेट कटौती गरेका थिए ।
यस्तो कठिन परिस्थितिमा, डिजिटल लजिकले एनपीएलको व्यावसायिक सम्भावनामा विश्वास दिलाउँदै राम्रो प्रायोजन सम्झौताहरू गर्न सफल भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) का प्रायोजकहरूको सूची यस लिगको लोकप्रियता र यसको व्यवसायिक सम्भावनाको संकेत हो, जसले भविष्यमा अझ ठूलो विश्वास र सफलता सुनिश्चित गरेको छ ।
नेपाल प्रिमियर लिगमा आबद्ध भएका प्रायोजकहरूले खेल र ब्रान्ड एक्टिभेसनका माध्यमबाट लाखौं क्रिकेट फ्यानहरूसँग बलियो सम्बन्ध स्थापित गर्न सफल भएका छन् ।
एनपीएलका प्रायोजक
१. सिद्धार्थ बैंकले पाँच वर्षका लागि शीर्षक प्रायोजकको सम्झौता गरेको छ ।
२. एनसेल एक वर्षका लागि ‘पावर्ड बाई’ प्रायोजक बनेको छ ।
३. ओमोडा एन्ड जेइको तीन वर्षका लागि सह-प्रायोजकको रूपमा संलग्न भएको छ ।
४. केएफसी तीन वर्षका लागि आधिकारिक फुड एण्ड सेलेब्रेशन पार्टनर बनेको छ ।
५. खल्तीले तीन वर्षका लागि आधिकारिक टिकट पार्टनरको जिम्मेवारी लिएको छ ।
६. भिभो एक वर्षका लागि आधिकारिक स्मार्टफोन पार्टनर बनेको छ ।
७. रेड बुलले पाँच वर्षका लागि ‘इनर्जाइज्ड बाई’ पार्टनरको भूमिकामा आबद्ध भएको छ ।
८. सोल्टी होटल एक वर्षका लागि आधिकारिक आतिथ्य पार्टनर बनेको छ ।
९. ड्रिम ११ एक वर्षका लागि आधिकारिक फ्यान्टासी पार्टनर बनेको छ ।
१०. डिशहोम मिडिया/एक्शन स्पोर्ट्सले एक वर्षका लागि नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनरको जिम्मेवारी लिएको छ ।
११. फ्यानकोड एक वर्षका लागि भारतको आधिकारिक स्ट्रिमिङ पार्टनर बनेको छ ।
१२. नेपाल पे दुई वर्षका लागि आधिकारिक अम्पायर पार्टनर बनेको छ ।
१३. प्रेसिडेन्सियल कलेज तीन वर्षका लागि आधिकारिक एजुकेशन पार्टनर छ ।
१४. ह्यापिडेन्ट एक वर्षका लागि आधिकारिक ‘स्पार्कलिङ स्माइल’ पार्टनर बनेको छ ।
यी प्रायोजकहरूको सक्रियता र ब्रान्ड एक्टिभेसनले दर्शकहरूको ध्यान आकर्षित गर्दै एनपीएललाई अझ व्यापक बनाएको छ र यसले आगामी वर्षहरूमा खेलकुद र व्यवसायको अन्तरसम्बन्धलाई अझ बलियो बनाउने आशा दिलाएको छ । ब्रान्ड लजिकले यी ब्रान्डहरूलाई दर्शकहरूसँग प्रभावकारी तरिकाले जोड्न सहयोग गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) आगामी दिनमा केवल नेपाली क्रिकेट प्रतियोगिता मात्र नभएर, राष्ट्रको आर्थिक विकासमा अग्रणी भूमिका निभाउने सामर्थ्य राख्छ ।
यस लिगले खेलका माध्यमबाट खुद्रा अर्थतन्त्र, होटल, पर्यटन, सञ्चार, प्रविधि र मिडिया जस्ता विविध क्षेत्रका व्यवसायहरूमा रोजगारी सिर्जना गर्दै थप चलायमान बनाउने छ । यस लिगको सफलताले नेपाली संस्कृतिलाई विश्वभर चिनाउने अवसरका रूपमा विकास हुनेछ ।
एनपीएलको सफलताले खेलकुद क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्नेछ, जहाँ खेलाडीहरूले व्यक्तिगत रूपमा ब्रान्डहरूसँग सम्झौता गर्ने अवसर पाउने छन् । यसले उनीहरूलाई आर्थिक स्थिरता प्रदान गर्नेछ, जसले युवा खेलाडीहरूमाझ क्रिकेटलाई पेशागत रूपमा लिने प्रेरणा दिनेछ ।
लिगको सफलतामा अब अभिभावकहरूले अब आफ्नो छोराछोरीले क्रिकेट ब्याट समात्दा चिन्ता गर्नुपर्दैन । एनपीएलको दिगोपनले क्रिकेटलाई मात्र नभएर , समग्र नेपाली खेलकुदलाई सम्मानजनक र आर्थिक दृष्टिले सुरक्षित बनाउनेछ । आगामी दिनमा नेपाल प्रिमियर लिग खेलकुद प्रतियोगिता मात्र नभएर, आशा, महत्त्वाकांक्षा र उज्ज्वल भविष्यको प्रतीक बनेर उदाउने छ।