एनपीएलका दुई महँगा टोली प्रतियोगिताबाट बाहिरिए, उपाधि होडमा सस्ता टोली !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको खेल सकिएका छन् । प्रतियोगिता अघि सफल आँकेका टोलीहरु असफल देखिएका छन् भने कमजोर टोली सफल देखिए ।
फाइनल क्वालिफायरका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो इलिमिनेटरमा भने चितवन राइनोज र कर्णालीले याक्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको महँगा दुई टोली पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्लेअफमा पनि पुग्न सकेनन् । प्रतियोगिताका सस्ता टोली कर्णाली, सुदूरपश्चिम र चितवन प्रतियोगितामा प्लेअफ र क्वालिफयरमा पुग्न सफल भए ।
सुदूरपश्चिमले प्रतियोगिताको ७ खेलमध्य ६ खेलमा जित निकाल्न सफल भयो । सुदूरपश्चिम हालसम्म प्रतियोगिताको सफल टोली बनिरहेको छ ।
प्रतियोगिताको सर्वाधिक महँगो पोखरा ३ करोड ५७ लाखमा बिक्री भएको टोली हो । त्यस्तै दोस्रो महँगो काठमाडौं ३ करोड ३३ लाखमा बिक्री भएको थियो । तेस्रो महँगो टिम जनकपुर २ करोड ५ लाखमा बिक्री भएको थियो ।
कुन टोलीको प्रदर्शन कस्तो ?
१. सुदूरपश्चिम रोयल्स
एनपीएलमा हालसम्म सफल टोली सुदूरपश्चिम रोयल्स हो । प्रतियोगितामा टिमले खेलेका ७ मध्ये ६ खेलमा जित निकालेको टोली उपाधि दाबेदार हो । प्रतियोगिताको पहिलो खेलमा नै विराटनगरलाई ९० रनले हराएको सुदूरपश्चिम चितवन राइनोजसँग पराजित हुँदा बाँकी सबै खेलमा ठूलो अन्तरको जित निकाल्यो ।
सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराउँदा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित निकाल्यो भने चितवनसँग ३३ रनको हार ब्यहोर्न पुग्यो । त्यसपछि जनकपुरसँग ७२ रनको जित निकाल्दा पोखरासँग ५ र कर्णालीसँग ६ विकेटको जित निकालेको हो ।
प्रतियोगितामा सुदूरपश्चिमका बलर स्कट कुग्लिङ सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । उनले हालसम्म १५ विकेट लिएका छन् । सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी सर्वाधिक रन बनाउने खेलाडीको सूचीको चौथो स्थानमा छन् । उनले प्रतियोगितामा हालसम्म १९८ रन बनाएका छन् । दिपेन्द्रले पाँच विकेट पनि लिएका छन् ।
२. जनकपुर बोल्ट्स
प्रतियोगितामा चर्चित टोलीको रुपमा आएको जनकपुर बोल्ट्स फाइनल पुग्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्दैछ । जनकपुर प्रतियोगिताको ७ खेलमध्ये ५ मा जित निकाल्न सफल भयो । जनकपुर तालिकाको दोस्रो स्थानमा सिमित बनेको हो ।
प्रतियोगितामा जनकपुर मधेशको प्रतिनिधित्व गरेको एक मात्र टोली हो । जनकपुरका खेलाडीहरु सर्वाधिक विकेट लिने सूचीमा अगाडि छन् । १३ विकेट लिएका ललितनारायण राजबंशी यो सूचीमा दोस्रो स्थानमा छन् ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा जनकपुरको नेतृत्व लाहिरु मिलान्थाले गरिरहेका छन् । प्रतियोगितामा उनले १९२ रन बनाएका छन् ।
३. चितवन राइनोज
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको फ्रेन्चाइजी लिगमा पहिलो पटक कप्तानी गरेका कुशल मल्लको नेतृत्वमा रहेको टोली हो, चितवन । चितवन प्रतियोगितामा एक मात्र टोली हो जसले बलियो मानिएका टोली सुदूरपश्चिम र जनकपुरलाई हराउन सफल भयो ।
चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराएको हो भने जनकपुरलाई पनि ३२ रनले हराउन सफल भयो । प्रतियोगितामा चितवनले ७ खेलमध्ये ४ खेलमा जित निकालेर शीर्ष चारमा अटायो ।
चितवनका रवी बोपरा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन् । उनले २३३ रन बनाएका छन् । त्यस्तै कप्तान कुशल मल्ल सो सूचीको तेस्रो स्थानमा छन् । उनले प्रतियोगितामा २०२ रन बनाएका छन् । बलिङ गरेर मल्लले ८ विकेट लिएका छन् ।
सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चिवनका रिजन ढकाल तेस्रो स्थानमा छन् । उनले प्रतियोगितामा १३ विकेट लिएका छन् । त्यस्तै सोहिल तनविर चौथो स्थानमा छन् । उनले १२ विकेट लिएका छन् ।
चितवन १ करोड ७६ लाखमा रुपैयाँमा खरिद भएको टोली हो ।
४. कर्णाली याक्स
सामाजिक सञ्जालमा सर्वाधिक चर्चामा आएको टोली हो, कर्णाली । प्रतियोगितामा भारतका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको कर्णालीले समर्थकको माया बटुल्न सफल भयो । कर्णालीले प्रतियोगिताका ७ मध्ये ४ खेलमा जित निकाल्यो । कर्णाली अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ ।
प्रतियोगितामा कर्णालीका लागि विपीन शर्मा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ९ विकेट लिएका छन् । बढी विकेट लिने खेलाडीको सूचीमा उनी ११ औं स्थानमा छन् ।
त्यस्तै कर्णालीका लागि सर्वाधिक रन जोड्ने शिखरले १३६ रन बनाए । बढी रन बनाउने खेलाडीको सूचमिा उनी १५ औं स्थानमा छन् ।
कर्णाली याक्स १ करोड ११ लाखमा बिक्री भएको टोली हो ।
५. काठमाडौं गुर्खाज
देशको राजधानीलाई प्रतिनिधित्व गर्दै एनपीएल खेलेको टोली हो, काठमाडौं । प्रतियोगितामा काठमाडौंले ७ खेलमध्ये ४ खेलमा जित निकाल्यो । नेट रनरेटमा कमजोर बन्दा काठमाडौं प्लअफमा पुग्नबाट बञ्चित भयो ।
करण केसीको कप्तानीमा भएको काठमाडौं एनपीएलको दोस्रो महँगो टोली हो । काठमाडौंले प्रतियोगितामा सोचे अनुरुप प्रदर्शन गर्न सकेन । धरै लगानी गरेको टोली असफल बन्न पुग्यो ।
टिम असफल बनेपनि प्रतियोगितामा कप्तान करण केसीको प्रदर्शन अब्बल रह्यो । उनले प्रतियोगितामा १२ विकेट लिएका छन् । बढी विकेट लिने खेलाडीको सूचीमा उनी पाचौं स्थानमा छन् । त्यस्तै उनले ५१ रन पनि बनाएका छन् ।
६. विराटनगर किङ्स
स्टार स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर प्रतियोगिताको उद्घाटन खेलमा नै जनकपुरसँग पराजित हुन पुगेको थियो । विराटनगरले प्रतियोगितामा मात्रै २ जित निकाल्यो ।
कप्तान सन्दीपले पनि प्रतियोगितामा सोचे अनुरुप प्रदर्शन गर्न सकेनन् । सन्दीपले प्रतियोगिताको ७ खेलमा मात्र ६ विकेट लिए । प्रतिश जिसीले भने मध्यमस्तरको प्रदर्शन गरे । उनले ९ विकेट लिए ।
यसरी विराटनगरका लागि पहिलो सिजन सफल हुन सकेन । विराटनगर प्रतियोगितामा १ करोड ५१ लाखमा बिक्री भएको टोली हो । यसआधारमा विराटनगर दोस्रो सस्तो टोली हो ।
७. पोखरा एभेन्जर्स
प्रतियोगिताकै सबैभन्दा महँगो टोली हो, पोखरा । पोखरालाई ३ करोड ५७ लाखमा खरिद भएको टोली पहिलो सिजनमा निकै असफल बन्यो । पोखरालाई नेपाली टोलीका ओपनर कुशल भुर्तेलले कप्तानी गरेका थिए । तर कप्तानीमा न्याय दिन भने सकेनन् ।
पहिलो पटक घरेलु क्रिकेटमा कप्तान बनेका कुशल निकै असफल बने । पोखराले प्रतियोगताको ७ खेलमध्ये २ खेलमा मात्र जित निकाल्यो । कुशल आफैंले पनि ५४ रनमात्र बनाए । बलिङ गरेर पनि ५ विकेटमात्र लिए ।
पोखराका दिनेश खरेल बाहेक अन्य खेलाडीले खुलेर खेल्न सकेनन् । दिनेशले प्रतियोगितामा १६१ रन बनाएका छन् । बढी रन बनाउने खेलाडीको सूचीमा उनी ११ औं स्थानमा छन् । बलिङतर्फ विपिन खत्रीले मध्यमस्तरको प्रदर्शन गरे । उनले ९ विकेट लिए ।
८. लुम्बिनी लायन्स
प्रतियोगिताको सबैभन्दा खराब प्रदर्शन गर्ने र असफल टोली हो, लुम्बिनी । लुम्बिनीले एनपीएलमा ७ खेलमा एउटामात्र जित निकाल्यो । नेपाली राष्ट्रिय क्रिकेट टिमका समेत कप्तान रहेका रोहितको एकल प्रयास पर्याप्त रहन सकेन ।
लिगको अक्सनमा बलियो मानिएको टोली लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको थियो ।
लुम्बिनी प्रतियोगितामा असफल बनेपनि टिमका कप्तान रोहित कुमार पौडेल भने हालसम्म प्रतियोगिताको सफल खेलाडी हुन् । उनले ७ खेलमा २७९ रन बनाएका छन् । त्यस्तै ८ विकेट पनि लिएका छन् । रोहित सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् भने बलिङमा उनको स्थान १७ औं रहेको छ ।
लुम्बिनी १ करोड ८६ लाखमा बिक्री भएको टोली हो ।