लुम्बिनी लायन्स: महासंघ पूर्वअध्यक्ष राणादेखि बुध्द एयर अध्यक्ष बस्नेतका ज्वाईंको १० करोड लगानी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनीको संस्कृतिलाई माया गर्दै बसेको टोली हो, लुम्बिनी लायन्स ।
प्रतियोगितामा अक्सनदेखि चर्चामा आएको टोली प्रतियोगिताको सुरुवाती दुई खेलमा पराजित भए पनि उपाधि दावेदार टोली हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई टिमको मार्की खेलाडी पाएको लुम्बिनी उपाधि जित्ने लक्ष्यमा छ । प्रतियोगिताको चौथो महँगो टोली लुम्बिनीलाई फर्च्युन हेल्थ केयरको स्वामित्वमा रहेको टोलीले नेपाली खेलाडी र विदेशी खेलाडीहरुमा राम्रो लगानी गरेको छ ।
लुम्बिनीले ११ जना नेपाली खेलाडीका लागि १ करोड ४ लाख ७५ हजार लगानी गरेको छ । जसमा २० लाख रुपैयाँ मार्की खेलाडीका लागि लगानी गरेको छ । टिमले हालसम्म १० करोड रुपैयाँसम्म लगानी गरिसकेको छ । नेपाली क्रिकेटलाई प्रवद्धन गर्नका लागि टिममा लगानी गरेको लुम्बिनी लायन्स टिमका अध्यक्ष भवानी राणा बताउँछिन् । राणा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष हुन् भने फर्च्युन हेल्थ केयरको अध्यक्ष हुन् ।
‘नेपालमा पनि पछिल्लो समय खेलकुदमा राम्रो सम्भावना छ । खेलकुद पर्यटनमा पनि योगदान होस् भनेर हामीले खेलकुद क्षेत्रमा लगानी गरेका हौं’, राणाले क्लिकमान्डुसँग भनिन् ।
आफूहरुले अहिले फाइदाको कुरालाई नहेको उनले बताइन् । पछिल्लो वर्षबाट केही नाफामा जान सक्ने भए पनि अहिले खेलकुदमा प्रवद्धन गर्न लागि मात्र लागेको उनको भनाइ छ ।
‘नेपाली खेलकुदको राम्रो भविष्य छ । अहिले हामीले नाफाको विषयलाई सोचेका छैनौं । पछि प्रतियोगिताले राम्रो चाम लिन सकेमा फाइदामा जान सक्छ । तर यो पछि थाहा हुने कुरा हो,’ राणाले भनिन् ।
को-को छन् , टिमका अन्य लगानीकर्ता ?
टिमका अध्यक्ष ईश्वरी जिसी म्यानपावर व्यवसायी हुन् । उनले टिमको हरेक पत्रकार सम्मेलनमा नेपाली खेलकुद पर्यटनमा टेवा पुगाउन सकिन्छ भन्ने उद्देश्यले लगानी गरेको बताउँदै आएका छन् ।
टिमका अन्य लगानीकर्तामा बाबुकाजी कार्की रहेका छन । उनी लेमन ट्री होटेल प्रवन्ध निर्देशक र मेडिकल समाग्रीको व्यवासाय सञ्चालन गर्दै आएका छन् । त्यस्तै संरक्षक भवानी राणाका छोरा देवाङ्स राणा पनि टिमका लगानीकर्ता हुन् ।
अर्का लगानीकर्ता करण बस्नेत बुध्द एयरका प्रमुख क्याप्टेन डीबी बस्नेतका छोरा हुन् । लुम्बिनीका अर्का लगानीकर्ता शिभांक थापा बुध्द एयरका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेतका छोरी ज्वाईं हुन् भने भवानी राणाका भान्जा हुन् । सुशिल शर्मा टुन्डी कन्स्ट्रक्सन्सका मालिक हुन् ।
यस्तो छ, लुम्बिनीको टोली
नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनी लायन्समा सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी छन् । टिममा दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेक गौतम, विकास अग्री पनि समावेश छन् ।
लुम्बिनी लायन्समा अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर छन् । लुम्बिनीको आइकोनिक खेलाडीमा आरिफ शान छन् ।
टिमको हालसम्मको प्रदर्शन
लुम्बिनीले हालसम्म प्रतियोगितामा दुई खेल खेलेको छ । प्रतियोगिताको पहिलो खेलमा कीर्तिमानी १९१ रन बनाएको लुम्बिनीले दुबै खेलमा हार व्यहोरेको छ । लुम्बिनीका लागि संयोग के छ भने, पहिलो खेलमा लगातार दुई खेलमा पराजित भएको लुम्बिनी दोस्रो खेलमा पनि लागातार दुई खेलमा पराजित भएको पोखरासँग पराजित भएको थियो ।