कुलमानले खोले उद्योगमा लोडसेडिङ गर्नुपर्नाको कारण (भिडियो)



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरुमा विद्युत कटौत‍ी गर्नुपरेको दाबी गरेका छन्।

घिसिङले केही प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताए ।

ट्रान्समिसन लाइनको मर्मतकार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपरेको घिसिङको भनाइ छ ।

धेरै विद्युत खपत हुने समय बेलुका ५ बजेदेखि राति ९ बजेसम्म भारतबाट विद्युत आयात गर्न नदिएको उनको भनाइ छ । घिसिङले ४५६ मेगावट क्षमता रहेको अपर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा विद्युत आपूर्तिमा समस्या भइरहेको बताए ।

‘अपर तामाकोशीलाई असोजको बाढीले ड्यामजे गर्‍यो । त्यसको मर्मत भइरहेको छ । हामीले एउटा डिसेन्डरलाई चलाएर काम गर्दैछौं । यही पुस १० गतेसम्ममा एउटा डिसेन्डरको पानी हामी टेम्पोरर्ली चलाउँछौ । त्यसपछि पिक टाइमको समस्या पनि बिस्तारै कम हुँदै जान्छ,’ उनले भने, ‘अर्को १०/१५ दिनमा हामी ४५६ मेगावट नै चलाउँछौं । अपर तामाकोशी पूर्ण रुपले सञ्चालनमा आएपछि बेलुकाको पिक टाइममा पनि हामी विद्युत प्रवाह गर्न सक्छौं । तामाकोसीको दुईटै डिसेन्डर चलाउनका लागि पाँच छ महिना अझै लाग्छ । किनभने त्यसको ड्यामेज धेरै भएको छ ।’

उनले अपर तामाकोसीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन अझै ५/६ महिना लाग्ने बताए ।

अपर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुने उनको दाबी छ ।

‘दुईतीन दिनदेखि प्रसारण लाइनमा समस्या आएको थियो । ढल्केवरबाट नवलपुरसम्मको प्रसारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नको लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यसकारणले विरगन्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरुमा दिउँसो पनि हामीले कममा विद्युत चलाउनु पर्ने समस्या भएको हो,’ घिसिङले भने, ‘त्यस्तै हिउँदमा भारतबाट विद्युत आयातका लागि जुन सहमति भएको छ, त्यो दिउँसो र राति आयात गर्ने सहमति भएको छ । बेलुका पाँच बजेदेखि राति ९ बजेसम्म पिक टाइम भन्छ, त्यो पिक टाइममा हामीलाई इम्पोर्ट गर्न दिएको छैन । त्यसकारण हामीले केही उद्योगहरुमा विद्युत कटौती नगरिकन दिन सकिँदैन ।’

घिसिङले अहिले नेपालमा १६०० मगावाट मात्र विद्युत उत्पादन भइरहेकोमा डिमाण्ड १९०० मेगावाटको रहेको जानकारी दिए । उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरुमा विद्युत कटौती गर्नुपर्ने बाध्यता रहेको बताए ।

अन्य ग्राहकहरुले लोडसेडिङको समस्या झेल्नु नपर्ने घिसिङले बताए ।

अन्य विभिन्न ट्रान्समिसन लाइनहरुमा समस्या भएकै कारणले विद्युत कम उत्पादन भइरहेको भए पनि मुख्य कारण अपर तामाकोशीबाट विद्युत उत्पादन नहुनु नै रहेको घिसिङले बताए ।

‘अहिले हाम्रो नेपालकै जेनेरेशन १६०० मेगावाट जतिको हुन्छ । तर उद्योगहरुसहितको डिमाण्ड १९०० जतिको हुन्छ । त्यसकारण हामीले २०० देखि ३०० मेगावाट जतिको लोड चाहीँ कममा चलाउनुपर्छ । त्यो पनि उद्योगहरुलाई । अन्य ग्राहकको लागि कुनै समस्या छैन,’ घिसिङले भने, ‘ हामीले पिक टाइमको लागि पनि भारतसँग विद्युतको लागि माग गर्दै पत्र पठाएका छौं । यस्तै समस्या पोहोर साल पनि भएको थियो । केही ट्रान्समिसन लाइनहरुको समस्या अहिले पनि छ ।’

अहिले अत्तरियादेखि पूर्वकोहलपुरसम्मको लाइनमा पनि केही समस्याहरु आएको उनले बताए । ‘रुख ढलेको छ । रक्सौलदेखि पर्वानिपुरसम्मको ट्रान्समिन लाइन चाहीँ हामीले एक महिनाको सट डाउनमा राखेका छौं । त्यहाँबाट अहिले बिजुली इम्पोर्ट गर्न मिल्दैन । अबका केही दिन भित्रमा त्यो आउँछ,’ उनले भने, ‘विद्युत आपूर्ति बन्द हुनुको केही प्राविधिक कारणहरु हुन् । तर मुख्य कारण भनेको अपर तामाकोसी बन्द भएको कारणले हो । तामाकोशीबाट विद्युत आउना साथ उद्योग क्षेत्रलाई पनि सहज हुन्छ’ ।

उद्योगहरुमा भइहरहेको लोडसेडिङको समस्या समाधान गर्न लागि परेको उनले बताए । पिक समयमा भने उद्योगहरुमा विद्युत कटौती नगरी सुक्खायाममा नागरिकलाई विद्युत आपूर्ति गर्न नसकिने बताए । यो हिउँदमा लोडसेडिङ नहुने उनको भनाइ छ ।


क्लिकमान्डु