रवि र निकिताको बैंक खातामा ७ लाख ७४ हजार रुपैयाँ मात्र !
काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको नाममा रहेका विभिन्न बैंक खातामार्फत झण्डै २९ करोड रुपैयाँको कारोबार भएको पाइएको छ ।
सहकारी ठगी प्रकरणमा छानबिनमा रहेका रवि र उनकी पत्नी निकिताको नाममा ७ वटा बैंकका १७ वटा एकल र संयुक्त खाताहरूमा कुल २८ करोड ९१ लाख रुपैयाँको कारोबार भएको कान्तिपुर दैनिकको समाचारमा उल्लेख गरिएको छ ।
प्रकाशित समाचारअनुसार, रवि र निकिताको नाममा भएका खाताहरूमा २०१६ देखि हालसम्म २९ करोड रुपैयाँको कारोबार भएको छ । प्रहरीको अनुसन्धानलाई उदृत गर्दै जनाइए अनुसार, ७ वटा बैंकका खाताहरूमा यस्तो कारोबार देखिएको हो ।
ग्लोबल आईएमई बैंक, नेपाल बैंक लिमिटेड, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक र हिमालयन बैंक गरि ७ बैंकका खातामा रवि र निकिताका नाममा कुल १७ वटा खाता रहेका छन् ।
रविका नाममा ३ वटा एकल खाता ग्लोबल आईएमई बैंक, नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा छन् । निकिताका नाममा १३ वटा एकल खाता विभिन्न बैंकमा छन् । नेपाल बैंकमा रहेका संयुक्त खाताबाट ४ करोड १३ लाख रुपैयाँको कारोबार भएको पाइएको हो ।
रवि र निकिताले ग्लोबल आईएमई बैंक र अन्य बैंकमा विभिन्न खाताहरू मार्फत करोडौं रुपैयाँको कारोबार गरेको समाचारमा जनाइएको छ ।
निकिता पौडेलले सिद्धार्थ बैंकमा सबैभन्दा बढी ६ करोड ५७ लाख रुपैयाँको कारोबार गरेकी छन् । अन्य खाताबाट पनि लाखौं रुपैयाँको कारोबार भएको छ ।
तर, अहिले भने रवि र निकिताको खातामा जम्मा ७ लाख ७४ हजार रुपैयाँ मात्र रहेको देखिएको छ ।
विभिन्न सञ्चारमाध्यमहरुमा आफ्नो खातामा करोडौं रकम रहेको उल्लेख गरिएको समाचारहरु सार्वजनिक भएको भन्दै निकिताले असन्तुष्टी जनाएकी छन् । सामाजिक सञ्जालबाट निकिताले आफूले ऋणमा लिएको ४ करोडको घरको किस्ता तिरिरहेको उल्लेख गरेकी छन् ।
‘खाता मेरो हो । यति–उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ’पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु’ उनले भनेकी छन् ।
उनले सञ्चारमाध्यमहरुले बैंक खाताहरुमा फरक फरक रकम उल्लेख गरेको भन्दै सबैमा एउटै रकम हुनुपर्ने होइन र ? भन्दै प्रश्न गरेकी छन् ।
‘कुनै मिडियाले यति करोड, कुनैले उति करोड भनेर लेखेका छन्। मिडियाले धर्म नछोडेको भए बैंकिङ कारोवारको अंक सबैमा ठ्याक्कै एउटै हुनुपर्ने होइन र ? आफ्नो सम्पूर्ण बैकिङ विवरण प्रहरीलाई बुझिसकेकी छु । यस्तो संवेदनशील विषयमा किन यति संवेदनहीन भएका होलान् भनेर सोच्छु! समाचार लेख्नेमाथि दया लागेर आउँछ,’ निकिताको भनाइ छ ।