जनजाती बस्तीमा एक्लो ‘लुइँटेल दाइ’: परिवारले अस्वीकार गरेपछि ससूराली गाउँमा गरेको संघर्ष
रमिते खोला (मोरङ)। ब्राह्मण परिवारकी छोरीले कुनै लिम्बू केटासँग बिहे गरेको अवस्थामा केटीको परिवार र आफन्तले सामाजिक रुपमा वहिस्कार गर्ने कुसंस्कार नेपाली समाजमा विद्यमान छ ।
तर ब्राह्मणको छोराले लिम्बू केटी बिहे गरे भने के हुन्छ ? यस्तो अवस्थामा सामान्यतया बुहारीलाई भित्र्याइन्छ । यस्तो अवस्थामा नेपालको कानुनले पूर्ण रुपमा समानता दिए पनि सामाजिक रुपमा भने अनेक अपमान, विभेद र वहिष्कारका घटनाहरु देखिँदैआएको छ ।
सामान्यतया अन्तर्जातीय बिहेपछि वहिष्कारमा पर्ने अधिकांश घटनामा महिलाहरु नै पीडित बन्दैआएका छन् । आजभन्दा ठीक ३० वर्षपहिले पूर्वी नेपालको मोरङस्थित मिक्लाजुङ गाउँपालिका-४ मा परम्परागत रुपमा हुने गरेका अन्तरजातीय बिहे भन्दा फरक प्रकृतिको बिहे भएको थियो ।
जहाँ ब्राह्मण परिवारका एक युवा भानुभक्त लुइँटेलले लिलादेवी चेम्जवङसँग बिहे गरेका थिए । यस्तो अन्तरजातीय बिहे लिलादेवीको परिवारका लागि त स्विकार्य नै थियो । लुइँटेलको परिवारले भने बुहारीलाई स्विकार्न सकेन । न त छोरा भानुभक्त नै आफ्नो घर जान सके ।
भानुभक्तको पुर्ख्यौली घर मिक्लाजुङको वडा नं ३ मा छ । ब्राह्मण बस्तीको रुपमा चिनिएको त्यहाँ भानुभक्तका बाआमा, दाजुभाईहरुसहित सबैजसो आफन्तहरु बस्दैआएका छन् । जवकि लिलादेवी चेम्जोङ मिक्लाजुङ वडा नं ५ की स्थायी बासिन्दा हुन् ।
लिम्बू समुदायकी युवतीसँग प्रेमविवाह गरेपछि भानुभक्तले आफ्नै बाआमा भएकै ठाउँमा श्रीमतिलाई भित्र्याउन धेरै संघर्ष र कोसिस गरे । तर उनको परिवारले बुहार भित्र्याउनुको सट्टा भानुभक्तलाई नै वहिष्कार गरिदियो । भोलाका लागि भने अन्तर्जातीय प्रेमको नाममा परिवारले दिएको यस्तो ‘सजाय’स्विकार्य थियो ।
अनि बाटो मडियो
लिम्बू युवतीसँगको त्यही अन्तर्जातीय बिहे भोलाको जीवनमा नयाँ मोड बनिदियो । र सुरु भयो संघर्षको नयाँ अध्याय । परिवारले घरनिकाला गरेपछि भोला श्रीमति लिलादेवीकै बाआमाको घरमा उनीसँगै बस्न थाले ।
ससूरालीमा बस्न सुरुसुरुमा असहज भए पनि अचेल त बानी परिसकेको बताउँछन् भोला । अप्ठेरो चाहिँ के थियो भने लिलादेवीको सिँगो गाउँमा ब्राह्मण-क्षेत्रीहरुको अरु कुनै परिवार छैन । लिम्बू, राई, तामाङ, मगर, श्रेष्ठ, गुरुङ र दलित समुदायको वाहुल्य रहेको सिँगो वडा नं ४ भरी भोला लुइँटेल ब्राम्हण-क्षेत्री समुदायको एक्लो प्रतिनिधि हुन् ।
७ सय १३ घरपरिवार रहेको यो गाउँमा ५७९ परिवार राई, तामाङका ८०, श्रेष्ठका १२, विश्वकर्माका २४, लिम्बू ६, मगरका ४ र गुरुङ समुदायका ७ घरपरिवार छन् । मिक्लाजुङ १ का वडाध्यक्ष पर्वत राईका अुसार ४ हजार जनसंख्या रहेको यो वडाभरी क्षेत्री-ब्राह्मण समुदायको प्रतिनिधिका रुपमा लुइँटेलको एक्लो घर छ । जहाँ ६ जना सदस्य छन् ।
भोलाले हाल रमिते खोलाको आइतबारे पहाडमा लिलादेवीसँगै मिलेर किराना पसल, होटल तथा लज चलाउँदैआएका छन् । सबैजसो छिमेकी र गाउँलेहरु उनलाई ‘लुइँटेल दाई’भनेर बोलाउँछन् । आइतबारे पहाडमै खनीखोस्रिएर भोला दम्पतीले पक्की घर बनाएका छन् । भोला आफैं राई, लिम्बू र तामाङ भासा फरर बोल्न सक्छन् ।
‘म ब्राह्मणक छोरो । लिम्बूकी छोरीसँग अन्तरजातीय विवाह गरेपछि घरपरिवार र समाजले निको मानेन,’ लुइँटेल भन्छन्, ‘समाजले पनि अति अप्ठेरो मानेपछि जन्मघर छाडेर उकालो चढेर यहाँ आएर बस्न थालेँ । सुरुमा घरपरिवार र आफन्त सबैले हामी दम्पतीलाई नै हेला गरे । जब आइतबारेमा घर बनाएर स्थायी बसोबास गरियो तव परिवार र आफन्तहरु आउजाउ गर्न थालेका छन् ।’
१० कक्षासम्म पढेका भोला र ९ कक्षा पढेकी लिलाका ३ छोरी र एक छोरा छन् । छोरीहरु सम्झना, लक्ष्मी र निशा स्नातक तहमा अध्ययन गर्दैछन् भने छोरा जेनिश कक्षा ८ मा अध्ययनरत छन् ।
भोलाका अनुसार चाडवाड र पूजाआजामा भोलाका बाआमाहरु पनि आउन थालेका छन् । तर अझै पनि बुहारीले छोएको खाँदैनन् । भोला भन्छन्, ‘दाजुभाई र आफन्तहरु पनि आउन थालेका त छन् । तर मेरो छोराछोरीले छोएको पनि खाँदैनन् ।’
पुर्ख्यौली घर छाडेर श्रीमतीको घरमा बसेरै उनले लामो संघर्ष गरे । जहाँ राई, लिम्बू लगायत सबै जनजाती समुदायले आफ्नै रगतको नाता जस्तै व्यवहार गरेको भोला सम्झछन् ।
‘मलाई सुरुका संघर्षका दिनमा घरकै दाजुभाई जस्तै मानेर रगतको साइनो झैं माया र सहयोग गरे उनीहरुले । यहाँका राईलिम्बूहरु आफ्नो घर र सहोदर दाजुभाई जस्तो लाग्छ । मलाई गाह्रो-साह्रो पर्दा पनि यहाँको समाजले मलाई काँध नै हाल्छ । म त जनजाती हुँ कि बाहुन छुट्याउनै गाह्रो छ,’ भोलाले हाँस्दै सुनाए ।
पैत्रीक सम्पत्ति भने उनले केही लिएका छैनन् । दाजुभाई र बाआमाहरु भने अहिले पनि पुर्ख्यौली थलो भएको ठाउँ टाँडी चौतारामा सगोलमै छन् । अन्तरजातीय विवाह गरेकै कारण वहिष्कृत भएका लुइँटेललाई आइतबारेमा स्थायी बसोबास गराउन यहाँको क्षेत्री-ब्राम्हण शून्य जनजाती बाहुल्य समाजको ठूलो योगदान रहेको वडा अध्यक्ष राईको भनाइ छ ।
कहिलेकाहीँ त ठट्टा गरेर लुइँटेललाई गाउँलेहरु ‘मन्दिरको प्रसाद’ भनिदिन्छन् । ३० वर्ष पहिला लुइँटेल आइतबारे आएर पवित्र राईको घरमा डेरा गरेर पसल सुरु गर्दा यहाँ कुनै पसल र सडक थिएन ।
उनले डेरामै पसल सुरु गरेपछि आइतबारेमा पसल खुल्ने र बजार विस्तार हुने क्रम भयो । यसअघि यहाँका बासिन्दा ८–१० किलोमिटर ओरालो मुधुमल्ला र उर्लाबारी बजार पुगेर लत्ताकपडा र खाद्यन्न किन्नुपर्ने बाध्यता थियो ।
बाटोघाटो नहुँदा लुइँटेलले तराइबाट घोडामा सामान ल्याएर पनि व्यापार चलाएका थिए । र स्थानीय उत्पादनहरु पनि घोडालाई बोकाएर तराइमा लगेर विक्री गर्थे । उनको यो क्रमसँगै आइतबारेमा पसल खुल्ने क्रम सुरु भयो । आइतबारेको अहिलेको बजार बनाउन लुइँटेलको पनि योगदान रहेको अध्यक्ष राई बताउँछन् ।
अहिले यहाँ ६० भन्दा धेरै पसल, होटल र लज छन् । मोरङको विकट क्षेत्र मानिने यो क्षेत्रमा अहिले सडक सञ्जाल, बिजुली र सञ्चारको सुविधा छ । जुनसुकै पेसा र व्यवसाय गर्न रुचाउने लुइँटेल यहाँका सफल र परिश्रमी व्यवसायीका रुपमा चिनिन्छन् ।
मोरङको अति विकट क्षेत्र मानिने उत्तर पूर्वको यो पहाडी क्षेत्र रमिते खोला पहिला सिंगो गाविस थियो । साविकको रमिते खोला गाविस अहिले मिक्लाजुङ गाउँपालिकाको सिंगो वडा नं १ पर्छ ।
२ हजार ४१० मिटर उचाइमा रहेको यो पहाडी क्षेत्र धनकुटा, इलाम र पाँचथरसम्म सीमाना जोडिएको छ । यो भूगोलमा २४१० मिटर अग्लो रमिते डाँडोसहित २८ वटा पहाडी डाँडा छन् । ती सबै डाँडाबाट चम्किलो सूर्योदय र सूर्यास्त देखिन्छ । यहाँबाट मोरङ र झापाका बस्तीहरु पनि देखिन्छन् ।