लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित, तेस्रो स्थानमा उक्लियो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले रोमाञ्चक जित निकालेको छ । शुक्रबार भएको खेलमा कर्णाली याक्सले लुम्बिनीमाथि ५ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा कर्णाली दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १२३ रन बनायो ।
लुम्बिनीका लागि टोम मोरसले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै सन्दीप जोराले २४ रन बनाए ।
कर्णालीका लागि जिसन सक्सुदले २ विकेट लिए । त्यस्तै सोमपाल कामी, विपीन शर्मा, विलियम बेसिस्टो र नन्दन यादवले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । कर्णालीका लागि विलियम बोसिस्टोले ४४ रन बनाउँदा अर्जुन घर्तीले २५ तथा बाबर हायातले २० रन बनाए ।
यता लुम्बिनीका लागि विकास अग्रीले ३ विकेट लिँदा तिलक भण्डारीले २ विकेट लिए ।
आजकाको जितसँगै कर्णालीले प्लेअफको सम्भावना सहज बनाएको छ । लिगमा ६ खेल खेलेको कर्णालीको ८ अंकका साथ तालिकाको तेस्रो स्थनमा छ । यता पराजित लुम्बिनीले ७ खेलमा एक जित निकाल्दै प्रतियोगिताको अन्त्य गरेको छ ।
आज हुने अर्काे खेलमा विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दैछ ।