कमलादीमा भासिएको सडक मर्मतपछि आजबाट सवारी सञ्चालनमा, सचिवले रिबन काटेर गरे उद्घाटन



काठमाडौं । कमलादीस्थित भासिएको सडकको मर्मत कार्य चार महिनापछि सम्पन्न भएको छ। मर्मत सम्पन्न भएसँगै बिहीबारदेखि उक्त सडकखण्डमा सवारी साधन सञ्चालनमा आएका छन् ।

सडक विभागले इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट निर्माण गरी ४.८४ मिटर लामो र १२ मिटर चौडा सडक तयार पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरे।

गत साउन २३ गते टुकुचामाथिको पुरानो कल्भर्ट भत्किएपछि सडक भासिएको थियो । उक्त घटना भएपछि प्राविधिक टोलीले अध्ययन गरी यातायात रोक्न सिफारिस गरेको थियो । मन्त्री देवेन्द्र दाहालसहितको टोलीले स्थलगत निरीक्षण गरी तत्काल मर्मत गर्न निर्देशन दिएपछि कामले गति लिएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौंले असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँको लागतमा डिजी प्रकाश कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । कात्तिक ३ गतेबाट काम सुरू भए पनि बाढीका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो ।

राणाकालमा निर्मित कल्भर्ट पुरातात्विक महत्वको हुन सक्ने भन्दै पुरातत्व विभागले चासो देखाएको थियो । विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले काममा केही समय लागेको थियो । कात्तिक १ गते पुरातत्व विभागले सहमति दिएपछि निर्माण कार्यले तीव्रता पाएको थियो ।

महानिर्देशक रामहरि पोखरेलले विभागले तीव्र गतिमा काम सम्पन्न गरेको दाबी गरेका छन् । अब मर्मत भएको सडकले स्थानीय र सवारी साधनका लागि सहजता ल्याउने विश्वास गरिएको छ ।


क्लिकमान्डु