एक अर्ब ६३ करोड लागतमा बनेको दमक भ्यू टावर प्रधानमन्त्री ओलीद्वारा उद्घाटन



झापा । झापाको दमक वडा नं. ३ मा निर्माण गरिएको दमक बिजनेस कम्प्लेक्स (भ्यु टावर)को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

आइतबार कम्प्लेक्स परिसरमा आयोजित कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले टावरको उद्घाटन गरेका हुन्।

निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यु टावरको उद्घाटन ओलीले गरेका हुन्।

उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको बताए ।

प्रधानमन्त्री ओलीले यो निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए । विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेको छ ।

२०७६ सालदेखि निर्माण सुरु भएको प्रस्तावित दमक बिजनेस कम्प्लेक्स एक वर्ष अघि नै निर्माण सम्पन्न भइसकेको हो। २०७६ साल असार २७ गते प्रधानमन्त्री ओलीले नै यसको शिलान्यास गरेका थिए।

एक सय मिटर अग्लो यो कम्प्लेक्स १८ तलाको रहेको छ। ७२ मिटर उचाइमा कंक्रिट संरचना बनेको छ भने २८ मिटर उचाइमा मेटल फ्रेमको टावर रहेको छ।

चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो।


क्लिकमान्डु