बजारमा अत्यधिक तरलता भएपछि आज पनि ७० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत् २१ दिनका लागि निक्षेप संकलन गर्दै यति रकम प्रशोचन गर्न लागेको हो ।
बैंक संस्थ वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले निःशेष भाग जाने गरी ७० अर्ब रुपैयाँ बराबरसम्म कबोल गर्न पाउनेछन् । उनीहरुले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत् कबोल गर्नुपर्नेछ ।
आज प्रशोचन गरेको रकम पुस १४ गते ब्याजसहित फिर्ता हुनेछ । कति ब्याजदरमा राख्ने भन्ने बैंकहरुले नै प्रस्ताव गर्नुपर्छ । बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएकाले केन्द्रीय बैंकले यति धेरै पैसा खिच्न लागेको हो ।
यसअघि १९ गते केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ खिच्नका लागि आवेदन माग गरेकामा बैंकहरुले जम्मा २४ अर्ब ५ करोडमात्र राख्न इच्छा राखेका थिए ।
राष्ट्र बैंकका अनुसार निक्षेप कबोलमार्फत् खिचेको रकम हाल केन्द्रीय बैंकसँग २ खर्ब १५ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् १ खर्ब ४६ अर्ब रुपैयाँ खिचेको छ ।