रोहित पौडेल कप्तानीको लुम्बिनी लगातार चौथो पटक पराजित, जनकपुरसँग एक रनले हार्यो
काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रमियर लिग (एनपीएल)मा लगातार चौथो हार बेहोरेको छ ।
आइतबार भएको खेलमा लुम्बिनी जनकपुरसँग एक रनले पराजित भएको हो । त्रिवि क्रिकेट मैनामा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ३५ रन बनाए । त्यस्तै टोम मोरेसले ३१ रन जोडे । लुम्बिनीलाई अन्तिम ओभरको अन्तिम बलमा दुई रन आवश्यक रहेको समयमा सन्दीप जोरा क्याच आउट भएका थिए ।
यता जनकपुरका लागि हर्श ठाकेरले पाँच विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । जनकपुरका लागि अनिल शाहले ४५ रन बनाए । त्यस्तै लाहिरु मिलान्थाले २४ रनको योगदान गरे ।
लुम्बिनीका लागि अविषेश गौतमले तीन विकेट लिए । जनकपुर प्रतियोगितामा लगातार चौथो जित निकाल्दै ८ अंकसहित प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।