रविलाई रातारात चितवनबाट किन लगियो पोखरा ?
काठमाडौं । सहकारी बचत ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा लगिएको छ ।
लामिछाने बिहीबार बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय पोखरामा पुगेको प्रहरीको भनाइ छ ।
गए राति ८ बजे जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा रवि लामिछानेको बयान सकिएको थियो । उनलाई खाना खुवाएर बयान प्रमाणित गरेपछि राति ९ बजे मात्र सरकारी वकिलको कार्यालयबाट बिदा गरी प्रहरीमा पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ आदेश पाइसकेको भए पनि आइतबार हिरासतमा राख्ने म्याद थप गर्नुपर्ने भएकाले लामिछानेलाई राति नै पोखरा लगिएको हो ।
चितवनमा लामिछानेसँग दुई दिनसम्म बयान लिइएको थियो । उनलाई मंगलबार काठमाडौंमा बयान सकेपछि चितवन लगिएको थियो ।
चितवनमा हिजो उनको बयानका क्रममा बाहिर प्रदर्शन भएको थियो । प्रदर्शनका क्रममा प्रहरी र समर्थकबीच झडप हुँदा प्रहरीले बल प्रयोग गरेको थियो, जसमा दुई दर्जनभन्दा बढी घाइते भएका थिए । घाइतेमध्ये ८ जना प्रहरी रहेको जनाइएको छ । चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो ।
लामिछानेसँग पोखरा, चितवन, काठमाडौं र रूपन्देहीका सहकारीहरूको रकम अपचलन सम्बन्धी आरोपमा बयान लिइएको छ । बुधबार मात्रै पर्सामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पुर्जी जारी भएसँगै लामिछानेलाई पोखराबाट वीरगन्ज लगिने तयारी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कात्तिक २ गते उनलाई काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई रातिनै पोखरा लगिएको थियो । उनी हाल कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, वीरगञ्जको समता, रूपन्देहीको सुप्रिम र चितवनको साहारा सहकारीको बचत रकम अपचलनको आरोपमा अनुसन्धान भइरहेको छ ।