नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
बेइजिङमा आज दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।
बिआरआईबाट नेपालले लाभ लिनेछ: प्रधानमन्त्री
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् ।
पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताए ।
प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताए ।