आन्दोलनका कारण ११ दिनदेखि अवरुद्ध नागढुंगा सुरुङमार्गको काम फेरि सुरु



काठमाडौं । स्थानीय बासिन्दाहरुले विभिन्न माग राखेर अवरुद्ध गरेको नागढुंगा– सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य एघार दिनपछि आजदेखि सुरु भएको छ ।

स्थानीय बासिन्दाहरुले नागढुंगा सुरुङमार्गका कारण प्रभावित भएको घरजग्गाको मुआब्जालगायत विभिन्न माग राखेर निर्माणस्थलमा आन्दोलन गरेपछि मंसिर ९ गतेदेखि निर्माण कार्य अवरुद्ध भएको थियो ।

स्थानीयबासिन्दाको अवरोधका कारण नागढुंगा सुरुङमार्गको तल्लो सतहमा दैनिक भइरहेको ढलान कार्य प्रभावित भएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले दैनिक एक सय मिटरभन्दा बढी ढलान गर्दै आएको थियो ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका कोअर्डिनेटर रमेश कोइरालाका अनुसार सुरुङमार्ग खन्ने क्रममा स्थानीयवासीको घर चर्किएपछि उक्त घरको क्षतिपूर्ति र जग्गाको मुआब्जा माग गर्दै त्यहाँका बासिन्दा निर्माणस्थलमा आन्दोलन गरेका कारण काम रोकिएको थियो ।

सुरुङमार्ग खन्ने क्रममा १८ घरपरिवारको घरमा क्षति पुगेको थियो । ति १८ घरधनीलाई आयोजनाले क्षतिपूर्ति उपलब्ध गराउन साकारात्मक भएपछि निर्माण कार्य पुनः सुचारु भएको हो । क्षतिग्रस्त घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराउन करिब १५ करोड रुपैयाँ लाग्ने बताइएको छ ।

जग्गाको मुआब्जाको बिषय मन्त्रालयतहबाट टुँगो लगाउनुपर्ने भएकाले उक्त माग सम्बोधन गर्न मन्त्रालयलाई लेखेर पठाउने सहमति भएको सडक विभागले जनाएको छ ।

स्थानीयबासीले भने घरसहित करिब १२ रोपनी जग्गासमेत प्रभावित भएकाले त्यसको पनि मुआब्जा मागेका हुन् ।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलका अनुसार सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षले उठाएका समस्यामध्ये विभागको तर्फबाट समाधान गर्न सकिने बिषय विभागले मन्त्रालय तहबाट समाधान गर्न सकिने बिषय मन्त्रालयलाई लेखेर पठाउने सहमति गरेपछि बुधबारदेखि अवरुद्ध निर्माण कार्य सुचारु भएको हो ।

‘स्थानीयबासीले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि उहाँहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि बुधबारदेखि सुरुङमार्गको निर्माण कार्य सुचारु गरेका छौं,’ पोखरेलले भने,‘सुरुङमार्गको काम अन्तिम चरणमा पुगेको छ । अहिले फिनिसिङ्ग गर्ने कामहरु भइरहेका छन् ।’

पोखरेलका अनुसार नागढुंगा सुरुङमार्ग अन्तर्गत हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको छ ।

यसअघि पनि गत फागुनदेखि चैत ५ गतेसम्म स्थानीयबासीले विभिन्न माग राखेर एक महिनासम्म निर्माण कार्य अवरुद्ध गरेका थिए ।

त्यो वेला ठेक्केदार कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले दैनिक १ करोड गरी एक महिनाको ३० करोड रुपैयाँ क्षतिपूर्ति दावी गर्दै सडक विभागलाई पत्राचार गरेको थियो । तर यो रकम हालसम्म उपलब्ध गराइएको छैन ।

स्थानीयबासीको अवरोधका कारण गत बर्ष नागढुंगा सुरुङमार्गको अन्तिम ब्रेक थ्रु एक महिना पर सरेको थियो । सरकारले सन् २०१९ सेप्टेम्वर २३ मा जापानको हाजमा एण्डो कर्पोरेशनसँग उक्त सुरुङमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो ।

सरकारले गत वैशाख ३ गते नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) सम्पन्न गरेको थियो ।

यो सुरुङमार्गमा २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ मार्ग र २ हजार ५ सय ५७ मिटर दूरी भएको आपतकालीन सुरुङ मार्ग निर्माण भएको छ । आपातकालिन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गत आर्थिक बर्षको साउन २२ गते सम्पन्न भएको थियो ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।


क्लिकमान्डु