होटलको क्षमता र पर्यटक आगमनमा ठूलो खाडल: ३५ लाखलाई सेवा दिने क्षमता पुर्‍याउँदा १० लाख मात्रै भित्रिए



काठमाडौं । पर्यटक आगमन र होटलको क्षमतामा निकै ठूलो असन्तुलन देखिएको छ । नेपालमा विदेशी पर्यटकीयलाई दिने सेवा र सुविधामा सुधार भएर ३५ लाख पुगिसक्दा पर्यटक आगमन भने जम्मा १० लाखमा मात्रै सीमित भएको छ ।

होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह नेपालमा होटलहरूको संख्या र पर्यटकहरूको आगमनको अनुपातमा ठूलो असन्तुलन रहेको बताउँछन् । उनले भने ‘हाल नेपालमा वार्षिक ३०–३५ लाख पर्यटक राख्न सक्ने क्षमता भए पनि आगमन संख्या करिब १०–१५ लाखमै सीमित रहँदा होटल क्षेत्रको भविष्य नै जोखिममा छ,’ उनले भने, ‘होटलहरूमा एमआरपी सम्बन्धी समस्या रहेको छ । हवाई भाडा महँगो हुनु, होटलको सेवा मूल्यमा गिरावट आउनु र डिसेम्बर-जनवरी महिनामा बुकिङ घट्नुले होटल व्यवसाय थप समस्यामा परेको पर्दै गएको छ ।’

होटल ब्यबसायीहरुको माग होटललाई राष्ट्रिय प्राथमिकता र समान ब्यवहार हुनुपर्ने माग होटल व्यवसायीको छ ।

नेपाल सरकार पर्यटन विभाग र होटल संघ नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममार्फत होटल क्षेत्रमा देखिएको समस्या र चुनौतिको विषयमा छलफल भएको छ ।

पर्यटन विभागका महानिर्देशक डा. नरायण प्रसाद रेग्मीले सरकारी र निजी क्षेत्रको सहकार्यबाट समस्या समाधानको दिशा पहिल्याउन यस्तो कार्यक्रमले महत्वपूण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पूर्व पर्यटन सचिव दीपेन्द्र पुरुष ढकालले नेपालमा अतिथी सत्कार क्षेत्रको स्थिति र यसका बिभिन्न आयामहरू जस्तै होटेल निरीक्षण, गुणस्तर मापदण्ड र अधिकतम खुद्रा मूल्यको मुद्दा, निगरानी, नियमन मापदण्ड र व्यवसाय संरक्षण, म्युजिक रोयल्टी कलेक्सन मुद्दा लगायत वातावरण संरक्षण ऐन, २०७६ र यसका चूनौतीहरु जस्ता १८ विभिन्न मुद्दा र यसले नेपालको हस्पिटालिटी क्षेत्रमा परेको प्रभाव उपर आफ्नो राय प्रस्तुत गरेका थिए ।

ढकालले पर्यटन नीतिमा दीर्घकालीन योजनाभन्दा छोटो अवधि लक्षित योजनामा ध्यान दिनुपर्ने सुझाव दिए । भैरहवा विमानस्थलको सही उपयोग र आन्तरिक सडक तथा हवाई कनेक्टिभिटी सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

पर्यटन सचिव डा. गणेश प्रसाद पाण्डेले वार्षिक पर्यटनको लक्ष्य राखेर हरेक वर्ष सुधारमा ध्यान दिइँदै पर्यटन दशक मनाइने धारणा वताए। पर्यटक बसाइको अवधि (लेन्थ अफ स्टे) बढाउन नयाँ होटल थप्नेभन्दा सेवा र अनुभव सुधार्न केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले मुलुकलाई मर्यटकमैत्री बनाउन विमानस्थल तथा नाकाका अध्यागमनहरु चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन पूर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थलहरूको मार्केटिङ, र डिजिटल प्रविधिको अभावले नेपालमा पर्यटकको अनुभव कमजोर बनिरहेको बताए । उनले इ-भिसा र इ-पेमेन्ट प्रणाली तत्काल लागू गर्नुपर्ने आवश्यकता औंल्याए । उनले व्यवसाय प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डमा उद्योग सहजिकरण इकाई खडा गरिने पनि बताए।

होटल व्यवसायलाई उद्योगको मान्यता दिनुपर्ने, कानूनी जटिलता हटाउने, विमानस्थल र सडक सञ्जालहरु चुस्त दुरुस्त हुनुपर्ने व्यवसायीहरुको भनाइ छ । होटल व्यवसायीहरूले सरकारबाट स्पष्ट नीतिगत निर्देशिका माग गरेका छन् । तारे होटलको मापदण्ड पुनरावलोकन, इन्धन र विद्युतमा सहुलियत, र होमस्टे व्यवस्थापनमा सुधार हुनुपर्ने उनीहरुको भनाइ छ ।


क्लिकमान्डु