कतार एयरवेजको स्वार्थ केन्द्रित भैरहवा ‘टचडाउन’ बन्द, उडान संख्यासमेत घट्याे



काठमाडौं । कतार एयरवेजले तीन साता अगाडि भैरहवा टचडाउन गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको छ । यो वायुसेवाले १२ नोभेम्बरबाट सुरु गरेको कतारको दोहा भैरहवा काठमाडौं उडान बन्द गरेको हो ।

२३ कात्तिक (८ नोभेम्बर)बाट काठमाडौं विमानस्थल राति १० घण्टा बन्द गरेर मर्मत गर्न थालेपछि बाध्य भएर कतार एयरवेज भैरहवा जान थालेको थियो । यो विमानलाई दोहा काठमाडौं दैनिक २ वटा र भैरहवा हुँदै काठमाडौं आउने एउटा उडानको अनुमति दिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार कतारले दैनिक दुई उडान काठमाडौं र एउटा भैरहवाबाट गर्न गरी ८ नोभेम्बरदेखि ३० नोम्भेम्बरसम्को लागि उडान अनुमति लिएको थियो यो वायुसेवाले ३० नोभेम्बरदेखि भैरहवा टचडाउन बन्द गरेको छ भने त्यसपछिको लागि पनि उडान तालिको पेश गरेको छैन । कतारले उड्डयन प्राधिकरणलाई भने नयाँ तालिका बुझाउँदै भन्ने मात्रै जवाफ दिएको छ ।

यो वायुसेवाले भैरहवा टच डाउनगर्दासमेत काठमाडौंबाट तीनवटा उडानमार्फत यात्रु बोक्न पाएको थियो । यसले भैरहवा बन्द गरेपछि भने दैनिक २ वटा मात्रै उडानमा सीमित भएको प्राधिरकणका सूचना अधिकारी भुलले बताए ।

विमानस्थल मर्मत सुरु हुनुअघि कतारले काठमाडौंमा दैनिक चार उडान भर्दै आएको थियो । भैरहवामा उडान नगरेपछि यो वायुसेवाको उडान नै ५० प्रतिशतले घटेको छ ।

भैरहवामा कतार एयरलाइन्सले उडानै गर्न नचाहेको र पछिल्लो तीन सातासम्ममा पनि एउटै टिकेट बिक्री नगरेको एक ट्राभल व्यवसायीले बताए । कतारले १२ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म दैनिक एक उडान गर्दा दोहो भैरहवाको लागि एउटै पनि टिकेट बिक्री गरेन ।

यो वायुसेवा भैरहवा हुँदै काठमाडौं आउने यात्रु लिएर आउने मात्रै गरेको थियो । सीधै दोहा काठमाडौं आउन नपाएपछि बाध्य भएर भैरहवा टचडाउन गरेको कतारले डिसेम्बर लागेपछि भने भैरहवा हुँदै गर्ने उडानै बन्द गरेको छ । यसले कुनै कारण नदेखाइ बन्द गरेको यो उडान कहिलेबाट हुने भन्ने पनि जानकारी दिएको छैन ।

सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई २५ प्रतिशतको ग्राउण्ड ह्याण्डलिङबाहेक सबै छुट दिएको छ । यो छुट उडानले काठमाडौंको तुलनामा प्रतिउडान भैरहवामा अवतरण गर्दा एउटै न्यारोबडीसम्मको जहाजलाई ८ लाख रुपैयाँसम्म फाइदा हुने भए पनि कतारले भने उडानै गर्न चाहेन । यो वायुसेवा काठमाडौंमा बजार भएको र यात्रु पनि यही गन्तव्यमा भएको भन्दै भैरहवा जान नचाहेको देखिएको छ ।

काठमाडौं विमानस्थलको तुलनामा यो विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानको वायुसेवाले पाएको इन्धनमा छुट, ग्राउन्ड ह्याण्डलिङमा छुट, पार्किङ र एरोनटिक तथा नन एरोनटिकल शुल्कमा पाएको शतप्रतिशतको छुटका कारण काठमाडौं विमानस्थलको तुलनामा भैरहवामा अवतरण गर्दा पाउने फाइदाको लाभ कतार एयरले पनि लिएको थियो ।

उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा आवतरण गर्दा पाउने सबै छुट दिएर भैरहवाबाट हुने उडानमा प्रोत्साहन गर्दासमेत काठमाडौंको तुलनामा भैरहवाको भाडा भने अधिक असुलिरहेका छन् ।

भैरहवामा फ्लाई दुबई, नेपाल एयरलाइन्सको काठमाडौं भैरहवा दुवई उडान हुन्छ । फ्लाई दुवई र जजीरा एयरलाइन्सले भने भरहवामा नियमित उडान गरिरहेका छन् ।


क्लिकमान्डु