प्राधिकरणले पत्र पठाएपछि जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ रोक्ने बोर्डको तयारी



काठमाडौं । जगदम्बा स्टिल र मारुती सिमेन्टले डेडिकेटेड र ट्रंकलाइनको महशुल भुक्तानी नगरेसम्म साधारण सेयर (आईपीओ)निष्कासन गर्न नसक्ने भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले बुधबार धितोपत्र बोर्डलाई पत्र पठाएसँगै दुवै कम्पनीले तिर्न बाँकी विद्युत महशुल भुक्तानी नगरेसम्म सेयर निष्कासन रोक्का हुने भएको हो ।

बुधबार प्राधिकरणले २०८१ कात्तिक २५ गतेको मन्त्रिपरिषदको निर्णय र विद्युत नियमन आयोगले मंसिर ११ गते डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन भनेको भन्दै सेयर निष्काशन रोक्का राख्न आग्रह गर्दै पत्र पठाएको थियो ।

प्राधिकरणले पत्रमा विद्युत महसुल नतिरेको भन्दै दुवै कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने इजाजतको लागि निवेदन दिइ कारबाही अगाडि बढाएकाले सरकारी बाँकी सरह असुल गर्नुपर्ने रकमलाई दायित्वमा लेखांकन नगरेका निकाय वा कम्पनीमा सर्वसाधारणलाई सेयर बिक्री गर्न रोक्न लगाउन आग्रह गरेको छ । यसले सर्वसाधारणको लगानी जोखिममा पर्न सक्ने अवस्थाको संरक्षण गर्न सहयोग पुग्ने प्राधिकरणको भनाइ छ ।

विद्युत प्राधिकरणका अनुसार जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख ४३ हजार १२५ रुपैयाँ र मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार ४९३ रुपैयाँ डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्न बाँकी छ।

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले प्राधिकरणको पत्रको विषयमा के गर्न सकिन्छ भन्नेबारे छलफल गरेर अघि बढ्ने बताए ।

आफूले बुधबार मात्रै बोर्डमा कार्यभार सम्हालेको र यस विषयमा कार्यालयका सम्बन्धित कर्मचारीहरुसँग छलफल गर्ने बताए ।

बोर्डका प्रवक्ता डा नवराज अधिकारीले भने कुनै पनि निकायले बाँकी बक्यौता छ भनेर पत्र पठाएपछि त्यो भुक्तानी नभएसम्म आईपीओ निष्कासन गर्न अनुमति दिन नसकिने बताए ।

यसअघि पनि यस्ता विषय आएको उनले बताए । यसअघिको अभ्यासलाई हेरेर अघि बढ्ने उनको भनाइ छ ।

कम्पनीले तिर्नुपर्ने बक्यौता छुट्याएर आए सेयर निष्कासन गर्न अनुमति दिन सकिने उनले बताए ।

यसअघि रिलायन्स स्पिनिङ मिल्सले सुरुमा बोर्डमा पठाएको प्रोक्सपेक्टस संशोधन गरेको थियो । रिलायन्सले ७५ करोड ३६ लाख ८४ हजार तिर्न बाँकी रहेको भन्दै प्राधिकरणले सेबोनलाई पत्र पठाएको थियो । सोही पत्र अनुसार रिलायन्सले उक्त रकम तिर्न बाँकी रहेको भन्दै नयाँ प्रोक्सपेक्टस बनाएको थियो । नयाँ अनुसार कम्पनीको प्रति सेयर आम्दानी र नेटवर्थ घटेको थियो ।


क्लिकमान्डु