डेडिकेटेड ट्रंक लाइन विवाद: पीपीएको भुक्तानी काटेर बक्यौता उठाउँदै प्राधिकरण
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै जलविद्युत् र सौर्य आयोजनाको विद्युत खरिद बिक्री (पीपीए) को भुक्तानी रोक्ने भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पियोर इनर्जी लिमिटेडलाई पत्र लेखेर पीपीएको भुक्तानी रोक्ने उल्लेख गरेको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले विद्युत नियमन आयोगले लाइन नकाटी वैकल्पिक उपाय अपनाएर बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो । ‘उद्योगमा लाइन नकाटी बक्यौता उठाउन भनिएको छ । हामीले बैकल्पिक उपाय अपनाएका हौं,’ उनले भने,’ हामी खुरु खुरु पीपीएको पैसा तिर्ने, उहाँहरुले बक्यौता नतिर्ने भन्ने नी हुन्छ?’
प्राधिकरणले लेखेको पत्र अनुसार उक्त कम्पनीमा पवन गोल्यानको लगानी छ । नेपाल विद्युत प्राधिकरण, इटहरी वितरण केन्द्र अन्तर्गत रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको डेडिकेटेड फिडरबाट विद्युत उपभोग गरे बापतको महसुलको छुट बिजक बमोजिमको रकम ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ छ ।
गोल्यानको लगानी रहेको रिलायन्स स्पिनिङ मिल्सले बक्यौता नतिरेको भन्दै पियोर इनर्जीको भुक्तानी रोक्न लागेको हो ।
‘नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ क बमोजिम सरकारी बाँकी सरह असुलउपर गर्न सक्ने व्यवस्था भएकाले निज गोल्यान समेतको लगानी भएको त्यस कमपनीबाट बक्यौता असुल गर्नको लागि विद्युत खरिद बिक्री सम्झौता अनुसार खरिद बापतको मासिक बिल भुक्तानी गर्नुपर्ने रकमबाट क्रमश कट्टा गरी बक्यौता असुल उपर गरिने छ,’ पत्रमा भनिएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले आफ्नै इमेल प्रयोग गरेर पवन गोल्यानलाई त्यसबारे जानकारी गराएका छन् । प्राधिकरणले बुधबार नै बक्यौता रहेका ३४ वटा उद्योगीको बैंक खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ । प्राधिकरणले नेपाल धितोपत्र बोर्डलाई उक्त कम्पनीहरुको आईपीओ निष्काशन रोक्न र कम्पनी रजिष्टारको कार्यालयलाई सेयर खरिद बिक्री रोक्न अनुरोध गरेर पत्र लेखेको छ ।
मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाइन लाइन नकाट्न निर्देशन दिएको छ । नियमन आयोगले उद्योगमा लाइन नकाटी वैकल्पिक उपाए अपनाएर बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।