घुम्ने संस्कृतिको विकास: आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा
काठमाडौं । चितवनकी अचर्ना कार्की साथमा परिवार र साथीभाई लिएर मर्दी हिमाल क्षेत्रमै तिहार मनाउने उद्देश्यले पदयात्रामा निस्किएकि थिइन् । ‘शरीर थाके पनि जति हिँड्यो त्यति नजिक देखिने हिमालले शरीरमा थप ऊर्जा थप्ने रहेछ,’ उनले पहिलोपटक लिएको पदयात्राको अनुभव सुनाइन् ।
पछिल्लो समय फुर्सदमा पदयात्रामा निस्कने संस्कारको विकास हुन थालेको छ । युवा पुस्तादेखि पाका पुस्तासमेत पदयात्रामा रमाउन थालेका छन् ।
कार्कीकै साथी सपना थापाले पहिलो पदयात्रा मर्दी हिमाल आधारशिविर पुगेर पूरा गरिन् । वर्षभरि जागिर, परिवार र दैनिक जीवनको सङ्घर्षमा आफ्नो लागि समय नमिल्ने हुँदा फुर्सदको सदुपयोग गर्न पदयात्रामा निस्किएको उनले बताइन् । ‘पहाड चढ्नु मात्रै होइन, यात्राका क्रममा देखिने जनजीवनले थुप्रै जीवन उपयोगी कुरा सिक्न र देख्न पाइँदो रहेछ,’ उनले भनिन् ।
विराटनगरकी प्रज्ञा दाहाल रुचाउँछिन् । सम्भव भएसम्म मुलुकका पर्यटकीय गन्तव्य घुम्ने योजना उनको छ । ‘आफ्नो देशको भूगोल, कला संस्कृति र सभ्यता बुझ्न पनि पदयात्रा जरुरी छ । हामीले घुम्दा स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुग्छ । अर्थतन्त्रमा सुधार आउँछ,’ उनले भनिन् ।
बानेश्वरका विमल भट्टराई प्रत्येक वर्ष छोराछोरीसहित पदयात्रामा निस्कन्छन् । उनले आफ्ना दुई छोरीलाई आन्तरिक पर्यटनको महत्त्व बुझाउन र संस्कृति सिकाउन यात्रामा लैजाने गरेको बताए ।
मर्दी हिमाल पदयात्रा गरेका दाङका अघर दाहालले शरीर चुस्त राख्न र मस्तिष्कलाई ताजा बनाउन पदयात्रा उपयुक्त हुने बताए । घरको वरिपरि हिँड्डुल गर्दा मोटरसाइकलको सहायता लिने उनले तीन दिनमा चार हजार पाँच सय उचाइमा रहेको मर्दी हिमाल आधारशिविर पुग्ने आँट गरे । ‘मैले आँट गरेँ र सफल भएँ । पदयात्राले लक्ष्य प्राप्ति गर्न धैर्य गर्न सिकाउने रहेछ,’ उनले भने ।
मर्दीका होटल व्यवसायी माया गुरुङ पछिल्लो समय आन्तरिक पर्यटककै भरमा व्यवसाय धानिएको बताउँछिन् । ‘नेपालीहरू परिवारसहित घुम्ने संस्कृतिको सुरुवात भएको छ । नेपालीलाई सत्कार गर्न सजिलो पनि हुन्छ,’ उनले भनिन् ।
१२ वर्षदेखि मर्दी हिमाल क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङका अनुसार आन्तरिक पर्यटक वृद्धि हुनुले पर्यटनमा दीर्घकालीन स्थायित्वको सम्भावना हुन्छ । मर्दी हिमाल पदयात्राका लागि ७४ वटा होटल सञ्चालित छन् ।
विदेशी र नेपाली पर्यटकहरू नजिकै माछापुच्छ्रे हिमाल, मर्दी, अन्नपूर्ण हिमश्रृङ्खलालगायत दृश्य एकैसाथ हेर्न मर्दी पदयात्रामा आउने गर्छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक भित्रिएका छन् ।
अघिल्लो वर्षको तुलनामा यसवर्ष सोही अवधिमा छ दशमलव चार प्रतिशतले वृद्धि भएको हो । तुलनात्मक रूपमा आन्तरिक पर्यटकको आर्कषण पनि लोभ लाग्दो रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले पछिल्ल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्नु स्वभाविक रहेको बताए । घुम्ने संस्कृतिको विकास भएको र मान्छेले आयआर्जन गर्न थालेकाले खर्च गर्न थालेको उनले बताए । आन्तरिक पर्यटक वृद्धि हुँदा प्रादेशिक अर्थतन्त्रमा टेवा पुग्ने तर राष्ट्रिय अर्थतन्त्र उकास्न चाहीँ विदेशी पर्यटक नै मूलस्रोत रहेको अध्यक्ष पाण्डेको बुझाइ छ ।
मधु शाही/रासस