एमआरओ छनोटको कमजोरीले मर्मतका लागि इटली गएको जहाज फर्केन, १ महिनालाई गएको जहाज ८० दिनअघि नआउने




काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजको मर्मतका संभार गर्ने संस्था (एमआरओ) छनोटमा भएको कमजोरीले निगमलाई ठूलो क्षति हुन पुगेको छ । निगमले एक महिनाका लागि जहाजको सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको जहाज ८० दिनभन्दा अगाडि नआउने भएको छ ।

निगमले उडान गरिरहेको एयरवसको ए३३०–२०० सिरिजको ९एन एएलजेड जहाज एक महिनाको लागि इटली गएको उक्त जहाज २७ कात्तिक (१२ नोभेम्बर)मा फर्कने मिति तय भए पनि यस अघिको वाइडबडी मर्मतमा भएको ढिलाइले यसपटकलाईसमेत शंका भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

उनका अनुसार जहाज दिन्छु भनेको समयमा इटलीको एटिटेकले यसअघि दिएको धोकाका कारण यस पटक पनि अहिले नै एकीन गरेर भन्न नसकिने पनि उनले बताए ।

यसअघि निगमले ८ असारमा इटली पठाएको जहाज पनि २७ भदौमा (८० दिनपछि) मात्रै फर्किएको थियो । यो पटक पनि एक महिनाको लागि मर्मतमा गएको जहाज ७५ दिनसम्म फर्किएको छैन ।

निगमको जहाज उडाएर लाभ दिनसक्ने वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनु भनेको दुईवटा जहाजको थन्किएको समय अर्थात सँगसँगै नउडेका साढे ५ महिना भएको छ । लामो समयसम्म जहाज थन्किएपछि निगमले किस्ता र ब्याज तिर्नुपर्ने भएकोले ठूलो घाटा भएको वायुसेवा निगमको भनाइ छ ।

निगमलेसमेत इटलियन कम्पनीलाई एमआरओ दिनु गल्ती भएको स्वीकार गर्दै ढिलो गरेर मर्मत गर्दालागेको घाटाको क्षतिपूर्ति माग्ने भनेर यस अघि नै घोषणा गरेको थियो । विडम्बना निगमको जहाज दिन ढिलो गरेकोमा क्षतिपूर्ति दिनु त कता हो कता उल्टै अर्को जहाजलाईलाई समेत लगेर करिव ३ महिना थन्काइदिएको छ ।

यस अघि नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा वायुसेवा निगमको कामकारबाहीका सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले समेत निगमले एमआरो छनोट गर्नु नै गलत भएको भन्दै प्रश्न उठाएको छ ।

निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन नियमका प्रावधानहरू पूर्ण रूपमा पालना नगरी एमआरओ छनोट गरेको भन्दै सरकारी समितिले प्रश्न उठाउँदा निगमले भने अहिलेम्म एमआरओको विषयमा केही प्रतिकृया नै दिएको छैन। प्रतिवदेनका सिफारिस तथा सुझावहरू खण्डको ‘ख’ मा ‘इटालीको एटिटेकसँग गरिएको ठेक्का प्रक्रिया त्रुटिपूर्ण देखिएको हुँदा त्रुटि सच्याउन विद्यमान प्रावधानबमोजिमको प्रक्रिया अवलम्बन गर्न मनासिव देखिएको’ भन्नै व्यवस्था उल्लेख छ ।

निगमले भने प्रतिस्पर्धाबाटै छानेको कम्पनी भएको दाबी गरेको छ । यस अघि गत असारमा वाइडबडी मर्मतमा पठाउँदासमेत निगमले निगामक निकायको स्वीकृति निदएको भन्ने विषयमा विवाद भएको थियो । उक्त एमआरोमा मर्मत गर्न जाने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृति दिएपछि मात्रै जहाज मर्मत हुन थालेको हो ।


क्लिकमान्डु