धनराज जोडिएको सहकारी ठगी प्रकरणः गुरूङ र भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
काठमाडौं । मितेरी बचत तथा ऋण सहकारीका बचतकर्ताको बचत अपचलनमा संलग्न दुई जना विरुद्ध रेड नोटिस जारी भएको छ । सहकारीको १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर फरार भएको भन्दै सहकारीकै तत्कालीन महाप्रबन्धक ज्योती गुरुङ र ज्योतीबहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी होविन्द्र बोगटीले गत साता दुवै जना विरुद्ध रेड नोटिस जारी भएको बताए ।
ललितपुर महानगरपालिका महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीका बचतकर्ताको बचत अपचलन गरेको भन्दै सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए । उक्त जाहेरीपछि नोटिस जारी भएको हो ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानूनमन्त्री धनराज गुरुङको पूर्व पत्नी गुरुङ सहकारीको १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर २०७६ माघ १८ गते देखि फरार छिन् ।
२०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी ज्योतीले २०७६ मा विभिन्न १३८ भन्दा बढी बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी हुन् । संस्थाबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर छानबिन गरिएको थियो ।
‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रस्तुत रकम हिनामिना छानबिन समिति’ले २०७९ फागुन पहिलो साता बुझाएको प्रतिवेदनमा गुरुङले १२ करोड ५० लाख ठगेको उल्लेख छ । समितिले दिएको प्रतिवेदनमा यथाशीर्घ लेखापरीक्षण गराई रकम यकिन गर्न सुझाव दिएको थियो । पछि लेखापरीक्षण गर्दा गुरुङले १४ करोड ८१ लख ६३ हजार ४१८ रुपैयाँ ठगेको तथ्य फेला परेको हो ।
सहकारीको बचत अपचलनमा धनराज गुरुङको समेत संलग्नता रहेको भन्दै आलोचना भइरहेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।