कांग्रेस उपसभापति धनराजमाथि पनि सहकारी ठगी प्रकरणमा कारबाहीको सिफारिस



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व कानुनमन्त्री धनराज गुरुङ र उनले सम्बन्ध बिच्छेद गरेको भनिएकी ज्योति गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारीको बचत रकम हिनामिना गरेको उजुरीका आधारमा कारबाही गर्न संसदीय छानबिन समितिले निर्देशन दिएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धनमा संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक प्रतिवेदनमा समस्याग्रस्त सहकारीहरुमा संस्थागत नक्कली अभ्यास गरको उल्लेख गर्दै छानबिनका लागि निर्देशन दिएको उल्लेख छ ।

नेता गुरुङले भने आफ्नी पूर्वपत्नी ज्योति हिनामिनामा संलग्न भएको हुनसक्ने तर आफ्नो सम्बन्ध बिच्छेद भइसकेको बताउँदै आएका छन् ।

सहकारीका अध्यक्ष कुम्मराज गुरुङले दिएको उजुरीको आधारमा संसदीय विशेष छानबिन समितिले अध्ययन गरेको थियो । यस क्रममा गुरुङले सहकारीको रकम नतिर्न सम्बन्धबिच्छेद गरेको समितिको निष्कर्ष छ ।

समितिका सभापति सूर्य थापाले पनि यसअघि गुरुङलाई लक्षित गर्दै सम्बन्ध बिच्छेदको नक्कली प्रपन्च रचेको प्रतिक्रिया दिएका थिए । यससँगै क्लिकमान्डुको यसअघिको रिपोर्टमा पनि गुरुङले सम्बन्ध बिच्छेदपछि पनि श्रीमतिकै नाममा फेरि ऋण लिएको र ब्याज समेत तिरेको खुलासा भएको थियो ।

समितिले सार्वजनिक गरेको प्रतिबेदनमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेसहित धनराज गुरुङलाई पनि कारबाहीका लागि सिफारिस गरेको छ । गुरुङ र उनकी पत्नी ज्योतिसहित मिलेर मितेरी सहकारीको झण्डै १२ करोड रुपैयाँ भन्दा धेरै रकम अपचलन गरेको देखिएको छ ।


क्लिकमान्डु