एमाले सांसद ऋषिकेशकी श्रीमती जोडिएको सहकारी ठगीमा १० जनालाई पक्राउ पुर्जी, अञ्जलाको नाम परेन
विराटनगर । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको उमागौरी कृषि सहकारी सस्थाका अध्यक्षसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।
पक्राउ पुर्जीमा पोखरेल पत्नी अञ्जला कोइरालाको नाम भने उल्लेख छैन । उनी यो सहकारीको सञ्चालक सदस्य रहेको अवधिमा १२ करोड भन्दा बढी रकम अनियमित भएको खुलेको छ ।
कोशी प्रदेश सहरकारी रजिष्ट्रार कार्यालयले कारबाहीका लागि सिफारिस गरेका सञ्चालक विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । प्रहरीले साताअघि मोरङको धनपालथान कर्सिया बजारमा बन्दअवस्थामा रहेको यो संस्थाको कार्यालयमा छापा मापरेर अनुसन्धानका लागि कागजपत्र जफत गरेको थियो ।
संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्म्ण साह, सचिव आलम अन्सारी, कोषाध्यक्ष शम्भुप्रसाद सिंह र सदस्यहरुमा आमोद मण्डल, रोशन राजबंशी, जितमान ठाकुर लेखा समिति संयोजक विजयकुमार यादव सदस्यहरु सुरेन्द्रकुमार राजबंशी र अशोककुमार विश्वासलाई अदालतले पक्राउ आदेश दिएको हो ।
कोइराला सञ्चालक समिति सदस्य रहेको यो सहकारीले बुटवलमा केन्द्रीय मुख्यालय रहेको आरएसडिसी लघुवित्तवाट ऋण लिएर नतिरेपछि उक्त लघुवित्तले कोइरालासहित सवै सञ्चालकलाई कालोसूचीमा सूचिकृत गरेको थियो ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले कोइरालाको नाम हटाएर हाल बहालमा रहेका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी र सदस्य विरुद्धमात्र कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको थियो ।
यो सहकारी संस्थाले विभिन्न वित्तीय सस्थावाट ११ करोड ५६ लाख ७८ हजार ऋण लिएको र २ करोड ३ लाख ५४ हजार रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको छ । त्यसैगरी १८ करोड ४९ लाख कुल पूँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा एवं सापटी लगानी रहेको देखाइएको छ ।