अमेरिकी चुनाव अपडेट: स्विङ स्टेट नर्थ क्यारोलाइनमा ट्रम्पले जिते, अहिलेसम्मको परिणामबाट के देखिँदैछ ?
एजेन्सी । रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नर्थ क्यारोलाइनामा जीत दर्ता गरेका छन् । यो अमेरिकाको ७ स्विङ स्टेट्समध्ये एक हो ।
स्विंग स्टेट अर्थात ती राज्य जहाँ चुनावमा हार या जीत निर्धारणको नजिक हुन्छन् ।
नर्थ क्यारलाइनको सबै १६ इलेक्टोरल भोट अब रिपब्लिकन पार्टीको भएको छ । अमेरिकामा कुल ५३८ इलेक्टोरल भोट हुन्छ, जसमा जितका लागि २७० भोट आवश्यक पर्छ ।
अधिकांश स्विङ स्टेट्सको नतिजा आउन अहिले बाँकी छ । पेन्सिलवेनिया, मिशिगन र विस्कन्सिनमा कमला ह्यारिसको जीतको अनुमान गरिएको छ ।
अहिलेसम्मको परिणाम कस्तो ?
अन्तिम समयमा मतदाताहरूको निर्णायक रुझान एक वा अर्को पक्षमा जानेछ भनेर ट्रम्प वा ह्यारिस पक्षले राखेको अपेक्षा अहिलेसम्म हेर्दा पुरा नभएको जस्तो देखिन्छ।
इस्ट कोस्टका अधिकांश प्रतिस्पर्धात्मक हुने ठानिएका राज्यहरूमा मतदान सम्पन्न भएको छ र तीव्र गतिमा मतगणनाको काम अघि बढ्दैछ ।
मतदानको अन्तिम परिणाम अझै पनि अनिश्चित छ तर अमेरिका अर्को एउटा कडा प्रतिस्पर्धा भएको निर्वाचनतर्फ अघि बढ्ने सम्भावना छ ।
जित्नै पर्ने अवस्था रहेको जोर्जामा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को तुलनामा परम्परागत क्षेत्रहरूमा अझै राम्रो गरेको पाइएको बीबीसीले जनाएको छ । कमला ह्यारिसले सहरी र सहरबाहिरका काउन्टीहरूमा बाइडेनले ल्याएको सङ्ख्यामा नै मत ल्याइरहेकी छन् तर अहिलेसम्म उनले उल्लेख्य सुधार हासिल गरेको देखिएको छैन ।
अहिलेको मतान्तरमा परिवर्तन हुनसक्ने भए पनि जोर्जा र नर्थ क्यारलाइनामा ट्रम्पको साँघुरो जितको अर्थ सबै जनाको नजर डेमोक्र्याटिकहरूको किल्ला रहेका द ग्रेट लेक्सको आसपासका राज्यहरूमा हुने समाचारमा जनाइएको छ।
विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिआ ह्यारिसका लागि ह्वाइट हाउसमा पुग्न सघाउन सक्ने सम्भवतः एउटै बाटो हुनसक्छ । र पेन्सिल्भेनिआको अन्तिम मत परिणाम कयौँ दिन नआउनसक्छ।
एक्जिट पोलले यो निर्वाचनमा महिला र पुरुषबीचको विभाजनलाई पनि देखाइरहेको छ ।
बहुमत महिलाहरूले कमला ह्यारिसलाई समर्थन गरिरहेका देखिन्छ भने धेरै पुरुषहरूले डोनल्ड ट्रम्पलाई समर्थन गरिरहेका देखिएको छ । यो आश्चर्यजनक होइन ।
तर सबैलाई छक्क पार्ने कुरा के हो भने, अहिलेसम्मको जानकारी अनुसार, ह्यारिसको पक्षमा ५४ प्रतिशत महिलाहरूले भोट खसालेका छन् जुन सन् २०२० मा जो बाइडनले प्राप्त गरेको ५७ प्रतिशत महिला समर्थन भन्दा कम हो ।
पेन्सिलवेनिया ट्रम्प र कमलाबीच कडा टक्कर
अमेरिकी राज्य पेन्सिलवेनियामा आधाभन्दा धेरै भोटको गणना भएको छ । अहिलेसम्म जति भोट गनिएको छ त्यसमा ट्रम्प केही अघि छन् ।
अन्य राज्यको तुलनामा सबैभन्दा धेरै १९ इलेक्टोरल कलेज भोट पेन्सिलवेनियामा छ । यो राज्यमा जीत रिपब्लिकन र डेमोक्रेटिक दुबै पार्टीका लागि महत्वपूर्ण छ