आज अमेरिकामा चुनाव: ट्रम्प र ह्यारिस मध्ये कसले मार्ला बाजी ?



एजेन्सी । संयुक्त राज्य अमेरिकामा आज राष्ट्रपति चुनावका लागि मतदान हुन गइरहेको छ । यसपटकको निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा हुनेछ ।

ट्रम्प र ह्यारिसले आफ्ना समर्थकलाई मतदान केन्द्रसम्म ल्याउन पूरै शक्ति लगाइरहेका छन् ।

४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति ह्यारिस र पूर्वराष्ट्रपति ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर देखिएको छ भने कतिपय पोलहरुले भने ह्यारिसले चुनाव जित्ने प्रक्षेपणहरु सार्वजनिक गरेका छन् ।

अमेरिकामा सामान्यतयाः विजेता को भयो भन्ने कुरा प्रायः निर्वाचन सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताहरूले थाहा पाउने गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित हुन्छ । जसका कारण कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ ।

जनवरी २०, २०२५ सोमवार संयुक्त राज्य अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्ने छन् ।

यसपालि अमेरिकाको इतिहासमा साठियौँ पटक त्यस्तो समारोह हुने छ ।

उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन् ।


क्लिकमान्डु