अमेरिकी चुनावमा पैसाको प्रभाव: साँच्चिकै जनमतले जित्छ कि र अर्बपतिहरुको रकमले ?
एजेन्सी । अमेरिकामा हुँदै गरेको राष्ट्रपति निर्वाचन आधुनिक इतिहासकै सर्वाधिक महंगो हुने भएको छ । जब राष्ट्रपति जो बाइडेन दोस्रो पटक राष्ट्रपतिको प्रतिस्पर्धाबाट बाहिरिए र कमला ह्यारिसलाई समर्थन दिए डेमोक्रेट्सका लागि यो निकै खर्चिलो सावित भयो ।
कमला ह्यारिसले राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेको एकै दिनमा ८ करोड १० लाख अमेरिकी डलर अर्थात् १० अर्ब ८८ करोड ५१ लाख २६ हजार नेपाली रुपैयाँ बराबर उनको चुनावी अभियानका लागि कोषमा संकलन गरियो ।
यसरी ह्यारिसको अभियान नै डेमोक्रेटिक पार्टीका लागि सबैभन्दा ठूलो रकम खर्च गर्ने इभेन्ट बन्यो । चुनावी अभियानका लागि तीन महिनामा १ अर्ब डलर जम्मा गर्दै उनले नयाँ रेकर्ड नै राखिन् ।
गत सेप्टेम्बरमा त उनले रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पलाई पनि पछाडि पारिन् । जतिबेला उनले साना दाताहरुबाट ३७ करोड ८० लाख डलर संकलन गरिसकेकी थिइन् ।
ट्रम्पले भने कमलासँगको प्रतिस्पर्धाका बीच सेप्टेम्बरमा १६ करोड संकलन गरेका थिए । जुनको कार्यक्रममा दाताहरूलाई करिब ४५ मिनेटसम्म सम्बोधन गरेपछि ट्रम्पले ५० मिलियन डलर संकलन गर्न सफल भएका थिए ।
तर मे महिनामा जव उनी आफ्नो व्यापारिक तथ्यांकहरुलाई झूटो बनाउने कार्यमा दोषी पाउनुका बावजुद उनले २४ घन्टामा ५२ करोड ८० लाख डलर संकलन गर्न सफल भए । यसवाहेक चुनावी अभियानको क्रममा जब उनको हत्या प्रयास भयो त्यसपछि पनि उनले दाताहरुबाट राम्रो आर्थिक संकलन गरे ।
चुनावी कोषको नियम के छ ?
अमेरिकामा आर्थिक अभियानलाई बाँध्ने अनेक कानुनहरु छन् । जसले पारदर्शिता बढाउँदै भ्रष्टाचार रोक्ने विश्वास गरिन्छ । संघीय निर्वाचन आयोगले ती कानुनहरु लागू गरेको हुन्छ । राजनीतिक अभियानहरुलाई कुनै व्यक्ति, संस्था र कम्पनीहरुले चन्दा दिन सक्छन् । तर तिनले उम्मेदवारलाई प्रत्यक्ष रुपमा कति रकम दिन पाउँछन् भनेर निश्चित नियम हुन्छ । सामान्यतया व्यक्तिले कुनै उम्मेदवारको चुनावी अभियान कोषमा बढी हिस्सा योगदान गर्न सक्छन् । यसमा धनाढ्य दाताहरुले ठूलो रकम दिने गरेका हुन्छन् ।
वैधानिक रुपमा व्यक्तिले एउटा चुनावका लागि प्रति उम्मेदवार ३ हजार ३ सय डलरसम्म दान गर्न सक्छ । जुन नियम २०२४ को चुनावका लागि तोकिएको छ । तर संघ र राज्य तहमा पार्टी कमिटीहरुले चन्दा संकलन गरेका हुन्छन् । तर उम्मेदवार स्वयंले पनि आफैं कोष बनाउन सक्छ । अर्थात् खर्च गर्न सक्छन् । जसरी ट्रम्पले यसभन्दा पहिले आंशिक रुपमा गरेका थिए ।
के हो सुपर प्याक अर्थात् ‘पोलिटिकल याक्सन कमिटी’ ?
यसैगरी पार्टी वा उम्मेदवारले चन्दा लिनसक्ने विभिन्न सीमितता तोकिएको हुन्छ । तर यस्ता चन्दा सिमानाबाट बच्न पोलिटिकल याक्सन कमिटी (प्याक) र सुपर प्याकको प्रयोग गरिएको हुन्छ । र अमेरिकामा हरेक चुनावमा यस्ता प्याकको धेरै महत्त्व हुनेगर्छ । सरकारले तोकेको मापदण्डभन्दा अन्य माध्यमबाट रकम संकलन गर्न सकिने उत्तम उपायको रुपमा यस्ता प्याकलाई लिने गरिन्छ ।
प्याकले सदस्यहरुबाट दान रकमलाई एकीकृत गरेको हुन्छ । उनीहरुले प्रति वर्ष प्रति उम्मेदवार ५ हजार डलरको मापदन्ड अनुसार रकम खर्च वा संकलन गरेका हुन्छन् । प्याकले सामान्यतया तेल तथा एरोस्पेस उद्योगहरुको प्रतिनिधित्व गरेको हुन्छ । र जलवायु परिवर्तन र हतियार अधिकार जस्ता मुद्दामा केन्द्रित हुने गर्छ ।
यसैगरी २०१० मा अदालतको आदेशपछि सिर्जना गरिएको सुपर प्याकमा व्यक्ति, युनियनहरु र कर्पोरेसनहरुले लगानी गरेका हुन्छन् । साथै प्याकको विपरीत सुपर प्याकबाट कुनै उम्मेदवारसँग जोडिएका स्वतन्त्र संगठनलाई असीमित मात्रामा दान दिन सकिन्छ । तर अभियानलाई दान वा प्रत्यक्ष रुपमा समन्वय गर्न सक्दैनन् ।
र यस्तो स्वतन्त्रता ती धनाढ्यहरुले उपयोग गर्छन्, जसले आफ्ना मनपर्ने उम्मेदवारको समर्थनमा चाहेजति खर्च गर्न सक्छन् । राजनीतिमा पैसाको विषयमा अध्ययन गर्ने एक स्वतन्त्र संस्था ओपनसेक्रेट्सका अनुसार २०१० देखि हालसम्म यस्ता समूहहरुले बाहिरी खर्चको रुपमा २ अर्ब ८० करोड डलर खर्च गरिसकेका छन् । र त्यसको अधिकांश रकम विज्ञापन, इमेल, क्यानभास र अनलाइन प्रचारका लागि खर्च गरिएको छ ।
पैसाको के प्रभाव ?
चुनावमा खर्च र पैसाले कस्तो प्रभाव पार्छ भन्ने कुरा सधैँ चासोको विषय हुने गरेको छ । सुपर प्याकले विशेषगरी आर्थिक रुपमा महत्त्वपूर्ण योगदानका लागि बाटो खोलिदिएको हुन्छ । तर प्राय प्रश्न पनि उठिरहेकै हुन्छ- के साँच्चै जनताको समर्थनले चुनाव जितिन्छ कि एलिट (धनाढ्य) दाताहरुको पैसाले ?
विश्वकै धनी उद्यमी तथा अर्बपति एलन मस्कले हालै २०२४ को चुनावमा ट्रम्पलाई समर्थन गरेका छन् । गत जुलाइमा पहिलो राष्ट्रपतीय बहसमा जो बाइडेनको कमजोर प्रस्तुतीपछि उनले ट्रम्पको अभियानलाई प्याक सहायता मार्फत् मासिक रुपमा ४५ करोड डलर दान दिने प्रतिबद्धतासँगै समर्थन गर्ने घोषणा गरेका थिए । त्यससँगै उनले ट्रम्पको समर्थनका लागि सुपर प्याक स्थापना पनि गरे ।
यद्यपि उनको चन्दा संकलनका प्रयास, मतदाता दर्ता र चुनावी मैदानमा उनले खर्च गर्ने गतिविधिहरु शंकास्पद हुनुका साथै ती गतिविधिले छानबिनको सामना गर्नु परेको छ । यसबीचमा कन्जरभेटिभ अर्बपति मिरियम अडेल्सनले ९५ करोड डलर अर्को सुपर प्याकमार्फत् दान गरेका छन् ।
यससँगै चुनावको क्रममा ठूलो मात्रामा प्रयोग हुनसक्ने कालो धनलाई पारदर्शी बनाउन पनि निकै कठिन बनेको छ । ओपनसेक्रेट्सको रिपोर्ट अनुसार २०२३ र २०२४ को चुनावमा अभूतपूर्व रुपमा कालो धन उदय भएको उल्लेख गरेको छ । यसरी २०२० मा संकलन भएको स्रोतबिनाको रकमले हाल ६६ करोड डलर पनि नाघ्नसक्ने ओपनसेक्रेट्सले जनाएको छ ।
कतिपय सन्दर्भमा प्याक र सुपर प्याकलाई अन्य कुनै पार्टीलाई समर्थनका लागि प्रभावित गर्ने उपायको रुपमा पनि लिइन्छ। उदाहरणका लागि अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटीले इजरायलको समर्थन गर्ने उम्मेदवारलाई विशेष रुपमा आर्थिक सहयोग गर्छ । उक्त संस्थाको उद्देश्य पनि त्यही भनिएको छ ।
तर यस वर्षको सुरुआतमा के पाइयो भने रिपब्लिकन गठबन्धनका मतदाताहरुदेखि डेमोक्रेट्सका उम्मेदवारहरुको समेत सबैभन्दा ठूलो आर्थिक स्रोतको रुपमा यही अमेरिकन इजरायल पब्लिक अफेयर्स कमिटी नै रहेको पोलिटिको म्यागजिनको विश्लेषण छ । र उक्त संस्थाको पैसा यसै वर्ष प्रारम्भिक चुनावको क्रममा प्रतिनिधिसभामा दुई प्यालेस्टाइनी समर्थकहरु जमाल बोमन र कोरी बुसलाई हराउन सफलतापूर्वक रुपमा प्रयोग भएको बताइन्छ ।
यस क्रममा अभियान वित्तीय सुधारले यसको व्यवस्थापनलाई सन्तुलित गर्न सक्ने अपेक्षा गरिएको हुन्छ । तर व्यापक दानको सीमा, पारदर्शिता र सार्वजनिक वित्तपोषणको वकालत गर्ने प्रयासहरुबीच संघीय स्तरमा तालमेल मिलिराखेको पाइएको छैन ।
त्यसो त २०२२ को चुनावमा राष्ट्रपति जव बाइडेनले कालो धन गम्भीर रुपमा प्रजातन्त्रका लागि खतरा रहेको बताएका थिए । साथै उनले कंग्रेसलाई अभियान वित्त विधेयक पास गर्न पनि प्रस्ताव गरेका थिए । जहाँ राजनीतिक समूहहरुले ठूला दाताहरुको खुलासा गर्नुपर्ने हुन्थ्यो । तर सिनेट रिपब्लिकनहरुले विधेयकलाई नै रोकिदियो ।
यद्यपि कतिपय राज्यहरुले यस्ता ठूला दानहरुलाई सन्तुलन गर्ने विषयमा पहल गरिरहेका छन् । न्युयोर्क सिटीले पब्लिक च्याचिङ सिस्टमको अवलम्बन गरेको छ । जहाँ थोरै दान रकमलाई पब्लिक फन्डबाट मिलान गरिएको हुन्छ ।
यसको उद्देश्य ठूला दाताको सट्टा साना दाताहरुको आवाजलाई बढाउनु रहेको बताइएको छ । यसैगरी विज्ञापन जस्ता दान प्रयासहरुले राजनीतिक प्रचारलाई पारदर्शी बनाएका हुन्छन् । जहाँ आम जनताहरुले विज्ञापन तथा उम्मेदवारहरुको प्रचार सामग्रीका लागि पैसा तिरेका हुन्छन् ।