ट्रम्प समर्थक मतदातालाई मस्कले पैसा दिन पाउने, पेनसिल्भेनिया अदालतले गर्यो यस्तो फैसला
एजेन्सी । नयाँ राष्ट्रपति छान्नका लागि अहिले अमेरिकामा निर्वाचनको माहोल छ । आज हुने निर्वाचनमा आगामी राष्ट्रपतिका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस भिड्दै छन् ।
निर्वाचनका बीच ट्रम्प समर्थकलाई अमेरिकी अर्बपति व्यवसायी इलन मस्कले दैनिक १ मिलियन अमेरिकी डलर (१३ करोड ४६ लाख नेपाली रुपैयाँ) उपहारका रुपमा दिने घोषणा गरेका थिए । ट्रम्पका समर्थकलाई मस्कले यति धेरै रकम दिने विषयलाई लिएर विश्वभर नै चर्चा भएको थियो । कतिपयले यसलाई चुनावलाई प्रभावित पार्न खोजिएको पनि भनेका थिए ।
मस्कको उक्त कदमलाई लिएर अमेरिकी अदालतमा परेको मुद्दामा सोमबार भने फैसला भएको छ ।
अमेरिकी राज्य पेनसिल्भेनियाले सोमबार मस्कले ‘स्विङ स्टेट’ का मतदातालाई दैनिक रुपमा दिने भनेको १ मिलियन अमेरिकी डलर दिन पाउने फैसला गरिदिएको छ । चुनाव हुनुभन्दा एक दिनअघि अर्थात सोमबार अदालतले यस्तो निर्णय गरिदिएको हो ।
न्यायधिश एन्जेलो फोग्लिईट्टाले मस्कले चालेको अभियानलाई ‘गैरकानुनी लटरी’ नभएको भन्दै फैसला गरेकी छिन् ।
टेस्लाका सीईओ मस्कले हालसम्म १६ मिलियन अमेरिकी डलर रकम उनले चालेको अिभयानमार्फत दिइसकेका छन् । साथै, उनको समूह अमेरिका राजनीतिक कार्य समिति (पोलिटिकल एक्सन कमिटि)ले मंगलबार अर्थात निर्वाचनको दिन मिसिगन राज्यबाट अन्तिम विजेता चुनिने पनि बताएको छ ।
मस्क र उनको अभियानको विषयमा मुद्दा हालेका कानुन व्यवसायीहरुले भने मस्कले यो रकम ट्रम्पको एजेन्डा फैलाउनमा उत्कृष्ट काम गर्नेहरुलाई चुनेर वितरण गरिएको भन्ने आरोप लगाएका थिए । यद्यपी अर्बपति मस्कले भने विजेताहरुलाई पुर्वनिर्धारित नभई अनियमित रुपमा नै छानिएको तर्क अघि सारेका छन् ।
मस्कको समूहले यो अभियान अक्टोबर १९ मा सुरु गरेको थियो, जसमा निर्वाचनका प्रमुख भूमिका खेल्ने ७ राज्यहरु, एरिजोना, जर्जिया, मिसिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कोन्सिन रहेका थिए । त्यहाँ उनीहरुले अभिव्यक्ति स्वतन्त्रता र बन्द्कसँग सम्बन्धित अधिकारको विषयमा आवेदनमा हस्ताक्षर गरेका थिए ।
अक्टोबर २८ मा भने फिलाडेल्फियाका जिल्ला अटर्नी ल्यारी कार्सनरले भने उक्त अभियानलाई बन्द गर्न भन्दै मुद्दा दायर गरेका थिए । डेमोक्रेट रहेका उनले यो अभियानले नियमको अवहेलना गरेको भन्दै अदालतमा आर्थिक जरिवानाको समेत माग गरेका थिए ।
तर अदालतले भने कार्सनरको मुद्दाको विपरितमा निर्णय गरिदिएको छ ।