उड्डयन प्राधिकरणले ल्यायो ३४ अर्बको बजेट, विमानस्थलको विकास निर्माणलाई ११ अर्ब मात्रै
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट ल्याएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिको ४२५औं बैठकले चालू आर्थिक वर्ष २०८१/८२ को लागि बजेट ल्याएको हो ।
प्राधिकरण सञ्चालक समितिले बजेट ल्याउन दिएको स्वीकृतिपछि चालू आर्थिक वर्ष सुरु भएको साढे ३ महिनापछि बजेट आएको हो ।
प्राधिकरणको ३४ अर्व १२ करोड १६ लाख रुपैयाँ खर्च यो वर्ष गर्ने गरी ल्याएको बजेट अनुसार पूँजीगत तर्फ ११ अर्ब ५२ करोड २५ लाख, कार्य सञ्चालन तर्फ ६ अर्ब ५२ करोड ७१ लाख र मुल्य अभिवृद्धि कर तथा अन्य वित्तीय व्यवस्थासमेत गरेर १६ अर्व ७ करोड २० लाख रुपैयाँको बजेट व्यवस्थापन भएको छ ।
जस अनुसार पूँजीगत तर्फ ३३.७७ प्रतिशत, कार्य सञ्चालन तर्फ १९.१३ प्रतिशत र मुल्य अभिबद्धि तथा अन्य व्यवस्थाको लागि ४७.१० प्रतिशत बजेट छुट्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले ल्याएको यस्तो बजेटम विमानस्थलको विकास र सञ्चालनका लागि गरिने खर्चको लािग ११ अर्ब ५२ करोड रुपैयाँ छुट्याइएको छ । प्राधिकरणले गर्ने यस्तो खर्च पुँजीगत अन्तर्गत हो । विमास्थलको विकास, सञ्चालन र वायुसेवाको नियमन नै यसको प्रमुख कार्य हो ।