एयर इण्डियाको विमानमा चढिसकेका थिए ५० यात्रु, बम भएको फोन आएपछि उतारेर थालियो जाँच
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको दिल्ली उड्ने तयारी गरेको एयर इण्डियाको विमानमा बम भएको सूचना आएपछि चेक जाँच थालिएको छ ।
भारतीय वायुसेवा एयर इण्डियाको विमानमा अज्ञात समूहले बम राखेको भन्दै सूचना दिएपछि विमानलाई रोकेर जाँच सुरु गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले १५८ यात्रु लिएर दिल्ली जाँदै गरेको विमानमा बम भएको भन्दै कर्मचारीलाई फोन आएको जानकारी दिए ।
‘आज अपराह्न ३:१२ बजे एयर इन्डिया २१५ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । उक्त जहाज अवतरणपछि फेरि भारत फर्कने तयारीमा थियो,’ शेर्पाले क्लिकमान्डुसँग भने, ‘ १५८ मध्ये ५०/६० यात्रु चढिसकेपछि विमानमा बम छ भनेर फोन आएको हो ।’
फोन आएपछि अहिले यात्रुलाई बाहिर निकालेर विमानको जाँच भइरहेको उनले जानकारी दिए ।
नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले अहिले विमानको जाँच गरिरेहका छन् । उक्त जहाज आज अपराह्न ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।
यसअघि गत साता मात्रै दिल्लीबाट नेपाल आएको अर्को विमानमा पनि बम राखिएको हल्ला चलेको थियो । भिस्तारा कम्पनीको विमानमा बम भएको हल्लासँगै विमानस्थलमा उक्त जहाजको चेकजाँच भएको थियो, तर विमानमा कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन ।