भारतीय विमानमा बमको धम्की दिँदै सयौं फोन, कसले कहाँबाट फैलाउँदैछ बमको हल्ला ?



काठमाडौं । पछिल्लो समय भारतीय विमानहरुमा बम राखेको हल्ला आउने क्रम तीब्र भएको छ । पछिल्लो साता १० वटाभन्दा धेरै उडानमा बम राखेको हल्ला फैलिएको छ ।

मंगलबार मात्रै दिल्लीबाट काठमाडौं आउँदै गरेको भिस्तारा एयरको उडानमा पनि बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेको छ । सेनाको टोलीले विमानभित्र जाँच गरेको हो ।

यसअघि क्यानडा, जर्मनी, हङकङ, फ्रान्स, इस्तानबुल, लन्डन लगायतबाट दिल्ली आउने जाने उडानमा बमको हल्ला फैलिएको हो । एक सातामै विभिन्न अज्ञात समूहबाट बमको हल्ला गर्दै गरिएका १ सय ७० भन्दा धेरै फोन भारतीय एयरलाइन्सलाई आएको बताइएको छ ।

मंगलबार काठमाडौं आएको भिस्ताराको विमानमा बम राखेको हल्ला पनि दिल्लीबाट आएको बताइएको छ । भिस्ताराको उडानमा मात्रै यसअघि तीन पटकसम्म बमको हल्ला आएको थियो । तर पछिल्लो समय बमको हल्लाहरु कुनै पनि सत्य सावित भएका छैनन् । ती सबै अज्ञात व्यक्तिका फोन भ्रम र त्रास फैलाउनका लागि मात्रै आइरहेका छन् ।

भारतीय प्रहरीले यसरी हल्ला फैलाउने काममा संलग्न रहेको भन्दै केही संशास्पद मानिसहरुलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो पटक छत्तीसगढका १७ वर्षीय युवकलाई मुम्बइ प्रहरीले पक्राउ गरेको थियो ।

यद्यपि कहाँबाट र किन यसरी भ्रमपूर्वक फोन आइरहेका छन् भन्ने यकिन भइसकेको छैन । यसबीचमा इन्डिगो, एयर इन्डिया, आकाशा एयर, स्पाइस जेट, स्टार एयर, भिस्तारा लगायतका विमानमा बमको हल्ला गरिएका छन् ।

एक साताअघि क्यानडा जाँदै गरेको एयर इन्डियाको विमानमा बमको हल्ला फैलिएपछि उक्त विमान डाइभर्ट गरेर अमेरिका लगिएको थियो । जसकारण विमान कम्पनीलाई ठूलो आर्थिक क्षति भएको बताइएको छ ।

अक्टोबर २० सम्म मात्रै विभिन्न भारतीय एयरलाइन्स कम्पनीहरुलाई २४ वटा बम हल्लाका फोन आएको बताइएको छ । यसरी आउने हल्लामध्ये कतिपय सामाजिक सञ्जालको माध्यमबाट पनि आउने गरेका छन् । जसकारण थुप्रै उडान नै प्रभावित भएका छन् । र दसौं करोड बराबरको आर्थिक क्षति भएको विमान कम्पनीले जनाएका छन् ।

त्यसो त भारतको नागरिक उड्डयन विभागले यस्ता फोन रोक्ने विषयमा छलफल गरिसकेको छ । तर पनि यस्ता हल्लाका फोन आउने क्रम रोकिएको छैन ।


क्लिकमान्डु