राज्यमन्त्रीको दबाबमा टीकापुर विमानस्थलमा परीक्षण उडान हुँदै: उडानको टुंगो छैन, स्टन्टबाजी मात्रै ?




काठमाडौं । पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको दबाबमा कैलालीको टीकापुर विमानस्थलमा नेपाल वायुसेवा निगमले आज (सोमबार) पौने १ बजे परीक्षण उडान गर्दै छ ।

नियमित उडानको टुंगो नभएको र परीक्षण उडानपछि नेपाल वायुसेवा निगमले नै उडान गरिरहन्छ भन्ने सम्म कुनै ग्यारेन्टी नभए पनि कैलालीको टीकापुर विमानस्थलमा सोमबार परीक्षण उडान हुन लागेको हो ।

राज्यमन्त्री चौधरीको क्षेत्र भएकोले उनले आफ्नो काम देखाउने बहानामा स्टन्टबाजी गर्न नेपाल वायुसेवा निगमको जहाज एक पटकको लागि नेपालगञ्जबाट टीकापुर उडाउन लागेको स्रोतको भनाइ छ ।

निगमको ट्वीनअटर जहाजले एक पटकका लागि राज्यमन्त्रीको दबाबाका कारण परीक्षण उडानसम्म गरिदिने र त्यसपछिको उडानको भने कुनै टुंगो छैन । निगमले नियमित उडान गर्न सक्ने र उक्त विमानस्थलमा उडान गर्न सक्ने क्षमता भएका जहाज निगमसँग जम्मा २ वटा मात्रै छन् । दुई वटा जहाजमध्ये एउटा टेक्निकल समस्या आइरहने हुँदा धेरैजसो एउटै जहाज मात्रै निगमको आन्तरिक उडानमा प्रयोग हने गरेको छ ।

निगमले सोमबार परीक्षण उडान गर्न लागेको टीकपुरमा विमानस्थलको धावनमार्ग जम्मा ५७३ मिटरको मात्रै छ । यो विमानस्थलमा काठमाडौंबाटै यात्रु लिएर जाने वा आन्तरिक उडानका ठूला जहाज उडाउन सम्भवन छैन ।

यो विमानस्थलबाट अछामको साँफेबगर उडान गर्न परीक्षण उडानको तयारी उल्लेख छ ।

No description available.

यो विमानस्थलमा उडान अवतरण गर्ने विषयमा १ कात्तिकमा मात्रै राज्यमन्त्रीको सचिवालले टीकापुर नगरपालिकालाई पत्र लेखेर विमानस्थल सञ्चालनको लागि आवश्यक सरसफाइको गराउन लगाएको छ ।

उक्त पत्र अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय टीकापुर विमानस्थल सञ्चालन गर्न पूर्ण रुपमा तयार भएकोले विमानस्थलको दुबै तर्फको बाटो बन्द गर्न र विमानस्थल क्षेत्रको सरसफाइ गर्न पत्राचार भएको थियो ।

निगमले परीक्षण उडान गर्ने भएकोले हवाई क्षेत्रको नियामक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसमेत उक्त विमानस्थलमा पुग्दै छन् ।

परीक्षण उडान पछिका प्राविधिक पाटोको बारेमा आवश्यक अध्ययन गर्ने र परीक्षण उडानको विषयमा पर्यटन मन्त्रालयलाई आवश्यक जानकारीको लागि प्राधिकरणको प्रतिनिधि उक्त विमानस्थल पुग्न लागेको उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

उनकाअनुसार उक्त विमानस्थलमा परीक्षण उडान सफल भए पनि त्यसपछि नियमित उडान हुने नहुने, उडान गर्न सक्ने वायुसेवा भए सोही अनुसारको निर्णय हुने छ ।

नेपाल वायुसेवा निगमले भने परीक्षण उडान गर्ने तर त्यसपछिको नियमित उडानको विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । निगमका प्रवक्ता रमेश पौडेले निगमको जहाजले परीक्षण उडान गर्ने र त्यसपछि हुने नियमित उठानको विषयमा आफूलाई कुनै जानकारी नै नभएको पनि बताए ।


क्लिकमान्डु