सहकारी ठगी प्रकरणः रवि लामिछानेसँगै प्रतिवादी रहेका खनाल पक्राउ
काठमाडौं । ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार रहेका तनहूँ भानु नगरपालिका ८ बगालेफाँटका राम बहादुर खनाल पक्राउ परेका छन् ।
कृष्ण प्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको सुर्यदर्शन वचत तथा ऋण सहकारीमा ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा खनाल पक्राउ परेका हुन् ।
नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनीको संचालक एवं शेयरधनी खनाललाई कार्यालयबाट खटीएको प्रहरी टोलिले आज काठमाडौं महानगरपालिका ३, पानीपोखरीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।