उपभोक्ताको सुरक्षामाथि गम्भीर खेलवाडः समस्या देखिएको सेरेस फिर्ता नगर्दा रोकेकै ठाउँमा आगलागी



काठमाडौं । सेरेस ब्राण्डको विद्युतीय गाडी (इभी) मा आगलागी भएको छ । सोमबार बिहान काठमाडौं महानगरपालिका-१५ स्थित सितापाइलास्थित सर्भिस सेन्टरमा रोकिराखेको सेरेस ब्राण्डको विद्युतीय कारमा आगलागी भएको हो ।

बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो। उक्त कारमा तार सर्ट भएर आगलागी भएको बताइएको छ । प्रहरी वृत स्वयम्भुका अनुसार सोमबार बिहान करिब ६ बजेको समयमा सेरेस ब्राण्डको विद्युतीय गाडीको विभिन्न भागमा धुँवा निस्किएर आगो लागेको थियो ।

कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ । कारमा आगो लागेपछि स्वयम्भु प्रहरीले मुचुल्का उठाएर ल्याएको जनाएको छ । उक्त कारमा मानिस नभएका कारण कुनै मानवीय क्षति भने हुन पाएको छैन ।

कारको अधिकांश भागमा क्षति पुगेको छ । कारको विभिन्न भागबाट एकै पटक धुँवा निस्केको थियो । यो कारमा धेरै पहिलादेखि नै समस्या देखिने गरेको थियो । सेरेस मिनीको स्टेरिङ, ब्रेक र पिकअपमा समस्या देखिदै आएको थियो । यो कारमा समस्या देखिएपछि नेपालमा सुरुदेखि नै ग्राहकले फिर्ता गरेका थिए ।

चिनियाँ ब्राण्डको सेरेस मिनीमा ब्रेक, रेन्ज, पिकअप र स्टेरिङमा समस्या देखिएपछि नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट कार फिर्ता लिएको थियो । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले ग्राहकबाट कार फिर्ता लिएको भनेर ढाँटेको पाइएको छ ।

एमएडब्लू वृद्धि नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालको कम्मनी हो । पैसा र शक्तिको आडमा अग्रवालको कम्पनीले हेलचेक्र्याईं गरी उपभोक्ताको सुरक्षा माथि गम्भीर खेलवाड गरेको छ ।

चीनबाटै सेरेस कम्पनीका प्राविधिक नेपाल आएर ती गाडीको प्राविधिक परीक्षण गर्दा गाडीमा समस्या देखेपछि ग्राहकबाट गाडी लिएको हो । तर एमएडब्लू वृद्धिले सबै कार ग्राहकबाट लिएर कम्पनीलाई फिर्ता नगरेपछि आज बिहान एउटा कार राकेर राखेको ठाँयमा आगलागी भएको हो ।

एमएडब्लु वृद्धिले २०८० भदौमा सेरेस मिनी ईभीका ३ भेरियन्ट नेपाल भित्र्याएको थियो । सर्ट रेन्जलाई १३ लाख ९९ हजार, फुल अप्सनलाई १६ लाख ४९ हजार र लङ रेन्जको १७ लाख ९९ हजार रुपैयाँमा बिक्री गरेको थियो ।

उक्त गाडीमा भएको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको थियो । तर, कम्पनीले दाबी गरेको रेञ्ज नदिएपछि ग्राहक रुष्ट थिए ।


क्लिकमान्डु