अण्डा उत्पादन गर्ने नेपालको सबैभन्दा ठुलो कम्पनीले आईपीओ निष्कासन गर्ने



काठमाडौं । अण्डा उत्पादन गर्ने नेपालकै सबैभन्दा ठुलो कम्पनी दाउन्ने एग्रो फार्मले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले सिटिजन्स क्यापिटलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।
सम्झौतामा दाउन्ने एग्रो फार्म लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
दाउन्ने एग्रो फार्म २०७४ सालमा स्थापना भएको अण्डा उत्पादन गर्ने नेपालकै सबैभन्दा ठुलो कम्पनीे हो । जर्मनी र मलेसियाबाट आयात गरिएको पूर्ण स्वचालित वातावरण अनुकुलित प्रविधिको प्रयोग गरी ४ लाख लेयर्स कुखुराबाट प्रति दिन १ हजार ७०० कार्टुन ‘एन्टिबायोटिक फ्री’ एवम् गुणस्तरीय अन्डा उत्पादन गरी देशको अधिकांश शहरी, अर्ध शहरी, एवम् पर्यट्कीय क्षेत्रमा बिक्री वितरण गर्दै आईरहेको छ ।

कम्पनीले फार्मको सम्पूर्ण गतिविधिहरुलाई अभिलेखीकरण गर्न जर्मनीमा विकसित गरिएको ईआरपी सफ्टवेयर प्रयोगमा ल्याएको छ । कम्पनीद्वारा उत्पादित अन्डाको प्रति इकाई लागत गणना, बिक्री व्यवस्थापन, मौज्दात व्यवस्थापन लगाएतका सम्पूर्ण गतिविधिहरुलाई निगरानी राख्ने गरिएको जनाएको छ ।

फार्मले भविष्यमा कुल ६ लाख कुखुराबाट प्रति दिन २ हजार ६०० कार्टुन अन्डा उत्पादन गर्ने समेत लक्ष्य राखेको जनाएको छ । दाउन्ने एग्रो फार्म नवलपुर जिल्ला विनयी त्रिवेणी गाँउपालिका–३, सर्दीमा रहेको छ । कम्पनीमा आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेड अन्र्तगतको नेपाल अपरच्युनिटी फन्ड- १ को समेत लगानी रहेको छ ।


क्लिकमान्डु