निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भयो, प्रकृया पूरा गरेर आएकाको रोकिएको छैन: अर्थमन्त्री



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।

बुधबार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिवद्धता अनुरुप नै निरन्तर रुपमा भुक्तानी भइरहेको बताए ।

अहिले पनि प्रक्रिया पूरा गरेर आएका निर्माण व्यवसायीहरुको भुक्तानी नरोकिएको उनले दाबी गरे ।

निर्माण व्यवसायीहरुले पाउनुपर्ने सबै दायित्व भने नपाएको उनले स्वीकार गरे ।

निर्माण सम्पन्न भएका कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिने बताए ।

निर्माण व्यवसायीहरुले सरकारबाट पाउनुपर्ने भुक्तानी दशैंअघि नै गर्ने प्रयासमा रहेको उनले बताए । उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरुको विषयमा व्यवसायीहरुले चिन्ता गर्नु नपर्ने बताए ।

संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरु रहेको पौडेलको भनाइ छ ।

वैकल्पिक स्रोतसहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरु जारी रहने बताए ।
भुक्तानी गर्नुपर्ने दायित्व धेरै भए पनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा रहेको बताए ।

‘सरकारले निर्माण व्यवसायीहरुको करिब २० अर्ब रुपैयाँ भुक्तानी भएको छ । तर निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व सबै पाउनुभएको छैन,’ उनले भने, ‘सरकार निर्माण सम्पन्न भएको कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिन्छौं । भुक्तानीको प्रक्रिया रोकिएको छैन । रोकिँदैन । निर्माण व्यवसायीहरुले सरकारबाट पाउनु पर्ने भुक्तानी पाउनु हुन्छ । दशैं अघि भुक्तानी गर्ने कोशिस गर्छौं ।’

भुक्तानी गर्नुपर्ने दायित्व धेरै भएपनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा रहेको उनले बताए । अब विपद्को कारण निर्धारित समयमा आयोजनाहरु सम्पन्न नहुने भएको उनले बताए । निर्माणाधिन आयोजनामा पनि क्षति भएको भन्दै उनले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताए ।


क्लिकमान्डु